Banner News

कर्मचारीले तोकिएको क्षेत्रमा गई जनताको सेवा गर्नुपर्छ, नगए बर्खास्त : मन्त्री पण्डित



विराटनगर, २९ पौष । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले सपथ लिएका कर्मचारीले आफ्नो जिम्मेवारी पुरा गर्न तोकिएको क्षेत्रमा गएर जनताको सेवा गर्नुपर्नेमा जोड दिँदै नगएमा बर्खास्त गर्ने चेतावनी दिनुभएको छ ।

विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले साठी हजार कर्मचारी समायोजनका लागि तयार भएका बताउनुभएको छ । उहाँले ७० प्रतिशत कर्मचारी स्थानीय तहमा जाने सहमति कायम गरेको जानकारी दिनुभयो । मन्त्री पण्डितले माघ २ गतेसम्म समायोजनको सीमा रहेको र त्यसको २१ दिनभित्र तोकिएको क्षेत्रमा नजाने कर्मचारीलाई बर्खास्त गरिने प्रष्ट पार्नुभयो ।

उहाँले स्तरोन्नति, थप ग्रेड वृद्धि तथा वृत्ति विकास गर्न कर्मचारीका लागि सम्पूर्ण ढोका खोलेको र अवकाश पछिको सम्पूर्ण सेवा सुविधा भुक्तानी गर्न सङ्घीय सरकार जिम्मेवार रहेको प्रष्ट पार्नुभयो । उहाँले भन्नुभयो “प्रदेश लोक सेवा आयोग गठनसम्बन्धी विधेयक यही संसद् अधिवेशनमा पेश गरिनेछ ।”