समाचार

माघे संक्रान्ति ? ‘नो जाँडरक्सी’ : अवैध घरेलु मदिरा खोज्दै नयाँबानेश्वरका ५० प्रहरी



काठमाडौं, २९ पौष । बलराम प्यासी । चाडपर्व भन्ने वितिक्कै जाँडरक्सी खानैपर्छ भन्ने पुरानो र नवधनाड्यहरुले पछि शुरु गरेको नराम्रो चलनलाई यसपालि भने प्रहरीले बन्देज लगाउने भएको छ ।

जाडो मौसम र नजिकिँदै गरेको माघे संक्रान्ति पर्वमा ‘लोकल’ मदिरा बढी खपत हुने भएकोले विभिन्न ठाउँमा ठुलो मात्रामा अवैध घरेलु मदिरा बनाउने क्रम बढेपछि महानगरीय प्रहरी वृत्त नयाँबानेश्वरले अवैध घरेलु मदिरा उत्पादन, विक्री वितरण र प्रयोगमा अंकुश लगाउन थालेको हो ।

अवैध घरेलु मदिरा उत्पादन र विक्रीमा रोक लगाउँदै वृत्त अन्तर्गत पर्ने सबै क्षेत्रलाई मदिरामुक्त वडा बनाउन महानगरीय प्रहरी वृत्त नयाँबानेश्वरले यतिखेर ५० जना प्रहरी परिचालन गरेको छ । वृत्त अन्र्तगत महानगरको १०, ३१ र ३२ वडा तथा कागेश्वरी मनोहरा नगरपालिकाको ७, ८ र ९ नं वडा पर्दछ ।

अवैध घरेलु मदिरा उत्पादन र विक्री वितरण गर्ने ठाउँको वृत्त प्रमुख, डिएसपि काफ्लेले आफैं आकस्मिक छड्के जाँच गर्न थालेका छन भने वृत्त र मातहतका प्रभागका समेत गरि विभिन्न दर्जाका ५० जना प्रहरी परिचालन गरेका छन ।

सादा पोशाकमा खटिने प्रहरीले घरेलु मदिरा उत्पादन गर्ने ठाउँ र मदिरा विक्री गरिने भट्टीपसल तथा सानातिना खाजा पसल समेतमा निगरानी गरि छापा मार्ने क्रम बढाइएको डिएसपि काफ्लेले बताए । वृत्तले शनिबारसम्म २३ हजार लिटर अवैध घरेलु मदिरा बरामद गरि नष्ट समेत गरेको छ ।

हिन्दुहरुको परम्परागत पर्व माघे संक्रान्ति घिउ, चाकु, तरुल, तिलौरी, लड्डु र मासुभात खाएर मनाउनुस तर ‘नो जाँडरक्सी’ वृत्तको भनाई छ । घरेलु मदिरा उत्पादन, विक्री वितरण र प्रयोगमा रोक लगाएर आयातित अर्थात सिलप्याक मदिराको प्रयोगमा जोड दिएको त हैन? भन्ने प्रश्नमा वृत्त प्रमुख, प्रहरी नायव उपरिक्षक गोविन्दराज काफ्ले भन्छन—‘लोकल होस या आयातित (सिल प्याक) कुनैपनि मदिरा स्वास्थ्य, परिवार र समाजको लागि फाइदामूलक हुँदैन, त्यसमाथि घरेलु मदिरा त स्वास्थ्यको लागि झन हानिकारक छ ।’

वृत्तले शनिबार स्थानीय जनप्रतिनिधि र उपभोक्ता अधिकारकर्मीको सहभागितामा कागेश्वरी मनोहरा नगरपालिकाको ७ र ८ नं वडाका वालुवाखानी, सुकुम्वासी वस्ती र कृष्णमन्दीर आसपासका ठाउँमा छापा मार्दा करीव ९ हजार लिटर अवैध घरेलु मदिरा बनाउँदै गरेको र विक्रीको लागि राखेको अवस्थामा बरामद गरेको छ ।

साथै मदिरा बनाउनको लागि प्रयोग हुने कच्चा पदार्थ, थुप्रै भाँडाकुँडा पनि बरामद गरेको छ । महानगरीय प्रहरी प्रभाग काँडाघारीका प्रहरी समेत परिचालन गरि बरामद गरिएका अवैध घरेलु मदिरा प्रहरी प्रभाग काँडाघारीको हातामा खाल्डो खनेर नष्ट गरिएको थियो ।

यसअघि वृत्तले महानगरको वडा नं ३१ शान्तिनगरको सुकुम्वासी टोल र कागेश्वरी मनोहरा नगरपालिकाको ७ नं वडाबाट पटक पटक गरि १३ हजार लिटर अवैध घरेलु मदिरा (जाँड, रक्सी र छयांग र तोङ्गवा) र मदिरा बनाउन प्रयोग हुने कच्चा पदार्थ, भाँडाकुँडा समेत ठुलो संख्यामा जफत गरेको थियो ।

घरेलु मदिरा उत्पादन, विक्री वितरण गर्न सजिलो हुने, धेरै मात्रामा र छिटो खपत हुने तथा नाफा पनि बढी हुने कारणले गर्दा प्रायः सुकुम्वासी वस्तीका गृहीणीहरु अवैधरुपमा घरेलु मदिरा बनाउने कार्यमा संलग्न भएको पाइएको उल्लेख गर्दै वृत्त प्रमुख काफ्लेले सरकारले उनीहरुलाई वैकल्पिक रोजगारीको व्यवस्था नगरेसम्म उनीहरुले अवैधरुपमा घरेलु मदिरा बनाउने क्रम र प्रहरीले बरामद गरेर नष्ट गर्ने काम नरोकिने गुनासो गर्छन ।