कठमाडौं, २९ पौष । परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले सरकारले जहाजमा काम गर्ने नागरिकहरुका लागि ‘सी म्यान’ राहदानीको व्यवस्था गर्ने भएको बताएका छन ।
आज संघीय संसदको विधायन व्यवस्थापन समितिको बैठकमा ‘राहदानीसम्बन्धि कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक,२०७५’ माथिको छलफलमा बोल्दै उनले पानी जहाजमा काम गर्ने नेपाली नागरिकहरुको अभिलेख राख्न पनि सो साहदानी दिने कानुनी व्यवस्था गर्न लागिएको बताएका हुन ।
राहदानीलाई दुरुपयोग हुन नदिन विद्युतीय राहदानीको पनि व्यवस्था गर्न लागिएको भन्दै उनले राहदानी मुलुकको प्रतिष्ठासँग जोडिएको डकुमेन्ट भएकाले यसको स्तरोन्नति गर्ने योजना समेत रहेको बताएका छन ।
बैठकमा समितिका सदस्यहरुले सांसदहरुलाई कूटनीतिक राहदानी लिन अप्ठयारो बनाउने गरी विधेयकमा प्रावधान राखिएको भन्दै सरकारको चर्को आलोचना गरेका थिए ।
समितिका सदस्यहरुले राहदानीको दुरुपयोग हुन नदिन पनि सरकारलाई सचेत गराएका थिए ।










प्रतिक्रिया दिनुहोस्