काठमाडौँ, ९ माघ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालले अब विकासका लागि धेरै प्रतीक्षा गर्नसक्ने अवश्था नरहेको बताउनुभएको छ ।
विश्व आर्थिक मञ्चको ४९औँ वार्षिक बैठकअन्तर्गत ‘दक्षिण एशियाको रणनीतिक दृष्टिकोण’ विषयक सत्रमा प्रधानमन्त्री आलीले नेपालमा राजनीतिक स्थितरतासँगै वातावरण संरक्षण, दिगो विकास र जनताप्रति समर्पित भएर काम गरिरहेको बताउनुभयो ।
प्रधानमन्त्री ओलीले नेपालले सामाजिक र आर्थिक रुपमा द्रुत गतिमा परिवर्तन र विकास गरिरहेको जानकारी गराउनुभयो । उहाँले भविष्यका पुस्ताप्रति सन्तुलित, सचेत र जिम्मेवारपूर्ण विकासका प्रयास गरिरहेको बताउँनुभयो ।
छिमेकीका साथै क्षेत्रीय तथा अन्तर्राष्ट्रिय संस्थासँग सुमधुर सम्बन्ध कायम गर्दै विकास–निर्माणको मार्गमा अग्रसर भएको बताउनुभयो ।
प्रधानमन्त्री ओलीले नेपालले नयाँ नीतिका साथ आर्थिक तथा सामाजिक क्षेत्रमा सुधार गरिरहेको बताउँदै ‘समृद्ध नेपाल तथा सुखी नेपाली’को लक्ष्य साकार पार्न वर्तमान सरकारले आफ्ना प्रयास आर्थिक विकास तथा सुशासनमा केन्द्रित रहेको बताउनुभयो ।
महिला सशक्तीकरण, न्याय तथा समानता, सामाजिक न्यायको प्रवद्र्धनसँगसँगै समाजका सबै क्षेत्रमा सुधार गरिरहेको बताउँदै उहाँले भन्नुभयो, “हामी नयाँ परिस्थितिमा प्रवेश गरेका छौँ जसले हामीलाई आशावादी बनाएको छ, हामीले क्षेत्रीय तथा अन्तर्राष्ट्रिय मामिलामा आफ्नो भूमिका बढाउन सकेसम्म प्रयास गरिहेका छौँ ।’’
प्रधानमन्त्री ओलीले नेपालले भारत तथा चीनसँग जलमार्ग तथा रेल सञ्जाल स्थापना गर्न प्रयास गरिरहेको जानकारी गराउनुभयो ।
नेपालमा लगानीको उपयुक्त वातावरण तयार भएको तथा त्यसका लागि लगानी मैत्री, ऐनकानून जारी भएका बताउँदै अन्तर्राष्ट्रिय लगानीका निम्ति प्रधानमन्त्रीले आह्वान गर्नुभयो । उहाँले क्षेत्रीय साझेदारी र समझदारी विकासमा पनि नेपालले उत्तिकै महत्व दिएको उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो, “युवालाई रोजगारी सृजनाका लागि व्यावसायिक प्रशिक्षण र बालबालिकालाई औपचारिक शिक्षामा सहभागी गराइएको छ ।”
एक प्रसङ्गमा उहाँले पारदर्शिताको सुनिश्चितता, विधिको शासन प्रवद्र्धन र भ्रष्टाचार नियन्त्रण आफ्नो सरकारको मुख्य प्राथमिकता भएको बताउनुभयो ।










प्रतिक्रिया दिनुहोस्