राजनीति

अत्तालीएको मानसिकतामा कांग्रेस, विधेयक पारितसँगै युवाको भाग्य र भविष्य सुनिश्चित : सभापति पाल



काठमाडौँ, १२ माघ । प्रतिनिधिसभा महिला तथा सामाजिक समितिका सभापति निरुदेवी पालले सरकारले देशमा विकासको लहर ल्याएका कारण प्रमुख प्रतिपक्षि दल नेपाली कांग्रेस हतास मानसिकता बोकी संसद अवरुद्ध गर्ने प्रयास गरेको बताउँदै चिकित्सा शिक्षा विधेयक पारितसँगै युवाको भाग्य र भविष्य सुनिश्चित भएको बताउनुभएको छ ।

युवा संघ नेपालले काठमाडौँमा आयोजना गरेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य, पूर्वमन्त्री, पूर्वयुवा संघ नेपालका अध्यक्ष तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेतको जन्मोत्सवको अवसरमा बोल्दै सभापति पालले सिङ्गो देशको आशा र भरोसाको केन्द्रको रुपमा युवा संघ नेपाल रहेको बताउनुभयो ।

उहाँले संसदबाट पास भएको चिकित्सा शिक्षा विधेयकका सवालमा संसद अवरुद्ध गर्ने नेपाली कांग्रेसको प्रयास नेपाल युवा तथा विद्यार्थीको विरुद्धमा रहेको भन्दै युवा तथा विद्यार्थीको भाग्य र भविष्यमाथि खेलवाड गर्ने प्रयास नगर्न समेत चेतावनी दिनुभएको छ ।

नेकपाका युवा नेतृत्वको चलाखी नै चिकित्सा शिक्षा विधेयक संसदबाट पास भएको भएको बताउँदै सभापति पालले आम नेपाली जनताको भाग्य र भविष्यलाई सहि बाटोमा डोर्याउने कार्यमा युवाहरुको जिम्मेवारी वर्तमान समयको अपरिहार्यता रहेको र सोही अनुसार आज विधेयक पास भएको समेत उहाँले बताउनुभयो ।

उहाँले राज्य संचालनमा युवा संघको भूमिका अतुलनिय रहेको भन्दै वर्तमान नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली, श्रम तथा रोजगार मन्त्री गोकर्ण विष्ट लगायत देशको मुख्य नेतृत्व नै युवा संघको उत्पादन भएको बताउनुभयो ।

उहाँले युवा संघको काम र जिम्मेवारीबाट लाखौं युवाहरु प्रभावित भएको भएको बताउँदै युवा संघका नेतृत्वको काम, योगदान तथा अन्यायका विरुद्ध लड्ने साहस नै युवाको पहिचान भएको बताउनुभयो ।

उहाँले चिकित्सा शिक्षा विधेयक आज संसदमा पास गराउने सवालमा समेत सदन तथा देशभर युवा संघकै नेतृत्वको भूमिका महत्वपूर्ण रहेको बताउनुभयो । उहाँले आफु पनि युवा संघको अध्यक्ष हुँदै वर्तमान अवस्थासम्म आइपुगेको चर्चा गर्दै युवाहरुले विचार, सोच, क्षमता, दक्षता, योग्यता लगायतका कुराहरुमा अझ बढी विकास र विस्तार गर्दै लैजानुपर्नेमा जोड दिनुभयो ।

उहाँले विधेयकका सम्बन्धमा देशभरि युवा संघले फैलाएको सकरात्मक सन्देशको प्रशंसा गर्दै युवाको सक्रियता अझ बढी मुलुकले आवश्यकता महसुश गरिरहेको बताउनुभयो ।

सभापति पालले सांसद बस्नेतकै कारण युवा संघले आफ्नो छुट्टै पहिचान स्थापना गर्न सफल भएको बताउँदै उहाँले बस्नेत युथफोर्सको अध्यक्ष बनेपश्चात देशमा चर्चाको विषय बनेको दावी गर्नुभयो । उहाँले सांसद बस्नेत आम नेपाली युवाहरुको प्रेरणाको स्रोत भएको बताउनुभयो ।