राजनीति

आर्थिक क्षेत्र नेपालमा प्रगति र समृद्धिको इञ्जिन : मन्त्री बाँस्कोटा



काभ्रेपलाञ्चोक, १४ माघ । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले विभिन्न आर्थिक क्षेत्र नेपालमा प्रगति र समृद्धिको इञ्जिन भएको बताउनुभएको छ ।

पनौतिस्थित सामुदायिक बचत तथा ऋण सहकारी संस्थाको रजत महोत्सवमा आज मन्त्री बाँस्कोटाले कृषि, पर्यटन, यायायात, सञ्चार, जलविद्युत्लगायत आठ क्षेत्रमा प्रगति गर्न नेपालको आर्थिक क्षेत्र समृद्धिको इञ्जिन भएको बताउनुभयो ।

मन्त्री बाँस्कोटाले सरकारको तीनखम्बे अर्थनीतिअन्तर्गत राज्यको तर्फबाट राष्ट्रिय लगानी, जनताको पूँजी परिचालन गर्न सहकारी र निजी क्षेत्रलाई पनि सक्रिय आर्थिक उत्पादनको प्रक्रियामा सामेल गराइने बताउनुभयो । उहाँले सहकारीलाई ऋण लगानी र उठ्तीमा मात्र होइन निष्क्रिय पूँजीलाई सक्रिय बनाई उत्पादनमूलकतर्फ उन्मुख हुनआग्रह गर्नुभयो ।

उहाँले नेपालमा अर्थतन्त्र मजबुत नहुँदासम्म केही वैदेशिक ऋण लिनुपर्ने बाध्यता रहेको बताउनुभयो । मन्त्री बाँस्कोटाले अब आर्थिक प्रगति, समृद्धि र क्रान्ति तथा पुनःनिर्माण र समाजका प्रत्येक क्षेत्रको समृद्धिमा नेपाल प्रवेश गरेको बताउनुभयो ।

मन्त्री बाँस्कोटाले सरकार तीव्र आर्थिक वृद्धिदर कायम गर्ने अभियानमा रहेको उल्लेख गर्दै भन्नुभयो, “पछिल्लो प्रतिवेदनले करीब छ प्रतिशतले राष्ट्रिय वृद्धिदर कायम भएको देखाएको छ, बाहिर हल्ला भएझैँ भएको भए यो प्रगति कसरी सम्भव भयो ?”

उहाँले केही मान्छे सरकारविरुद्ध केही पनि गरेन भन्दै कोलाहल गरिरहेकाले कुनै कुनै आँखाले विपी कोइरालाको ‘दोषी चस्मा’जस्तो नकारात्मक मात्रै देख्ने बताउनुभयो । उहाँले आजै संस्थाले सहकारीका क्षेत्रमा जिल्लामा पहिलो पटक स्थापना गरेको एटिएम सेवाको उद्घाटन गर्नुभयो ।