Banner News

नेपाल हरेक क्षेत्रमा हरेक दिन आधुनिकतासँगै एक कदम अगाडि बढ्दै : प्रम ओली



काठमाडौँ, १७ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल हरेक क्षेत्रमा हरेक दिन आधुनिकतासँगै एक कदम अगाडि बढिरहेको बताउनुभएको छ ।

नेपाल टेलिभिजनको ३४ औँ वार्षिकोत्सवका अवसरमा सो टेलिभिजनको चारै वटा च्यानलको हाइ डिफिनेसन (एचडी) रुपान्तरणको शुभारम्म गर्दै प्रधानमन्त्री ओलीले मुलुक डिजिटल नेपाल, इ गभर्नेन्स र पेपरलेस टेक्नोलोजीमा अगाडि बढिसकेको बताउनुभएको छ ।

उहाँले हासिल गरेका उपलब्धिका जगमा आर्थिक समृद्धि, सुशासन र समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षाका साथ अघि बढिरहेको बताउनुभयो । उहाँले नेपाल र आम नेपाली आधुनिक नेपालको दौडमा अघि बढिरहेको बताउनुभयो ।

अब कृषि, उद्योग, व्यापार, पर्यटन, पूर्वाधार, उर्जा, शिक्षा र स्वास्थ्यलगायत क्षेत्रमा नेपाललाई आधुनिकीकरणमा प्रवेश गराइने पनि बताउनुभयो । उहाँले नेपाली र स्वीट्जरल्याण्डका वैज्ञानिक मिलेर सुपर कम्प्युटर बनिसकेको र अरु पनि बन्ने जानकारी दिनुभयो ।

सो अवसरमा सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले अन्य टेलिभिजनभन्दा नेपाल टेलिभिजनमा केही फरक दायित्व भएको उल्लेख गर्दै यो सरकारी संस्था नभई राष्ट्रको टेलिभिजन, जनताको टेलिभिजन हो भन्नुभयो । मन्त्री बाँस्कोटाले अबको छ महीनापछि सार्वजनिक प्रसारण संस्था (पिएसबी) मा जानुपर्ने आग्रह गर्नुभयो ।

टेलिभिजनका अध्यक्ष डा महेन्द्र विष्टले टेलिभिजनको समाचार कक्षलाई स्वतन्त्र बनाई व्यावसायिक बनाउन राष्ट्रको आकाङ्क्षालाई सम्बोधन गर्ने र जनताकेन्द्रित मार्गदर्शन दिइएको बताउनुभयो । विज्ञापन एजेन्सीतर्फ उत्कृष्ट कारोवार गर्ने मिडिया हब प्रालि, कि एड्भर्डटाइजिङ सर्भिस प्रालि र एस्पो मिडिया प्रालिका प्रतिनिधिलाई सञ्चारमन्त्री बाँस्कोटाले सम्मान प्रदान गर्नुभयो ।

यसैगरी हास्य शृखंलाका कलाकार मरीचमान श्रेष्ठ, राजु पौडेल, दमन रुपाखेतीलगायत कलाकारलाई सम्मान गरियो । टेलिभिजनको पहिलो प्रतीकचिह्न बनाउने दीपककुमार जोशीलाई र लामो समयसम्म चलेको कार्यक्रम विम्ब प्रतिविम्बका सञ्चालक गोपाल थापालाई पनि सम्मान गरियो । त्यस्तै नौ स्थानीय समाचारदाता र दीर्घ सेवा २८ जनालाई पुरस्कार घोषणा गरियो ।