समाचार

महिला हत्याको आरोपमा साह चार वर्षपछि पक्राउ



पर्सा, १९ माघ । महिला हत्याको आरोप लागेका अकलेश साहलाई चारवर्ष पछि प्रहरीले पक्राउ गरेको छ ।

जिल्लाको छिपहरमाई गाउँपालिका– ४ बस्ने २३ वर्षीय राजा साहतेली भनिने साहलाई प्रहरीले चार वर्षपछि शुक्रबार पक्राउ गरेको हो । बागलुङ जिल्लाको साविक तित्याङ गाउँ विकास समिति–६ घर भई पर्वत कुश्मा नगरपालिका–८ भण्डारीटोलमा बस्दै आउनुभएकी ३० वर्षीया विष्णु परियारलाई निजले हत्या गरेपछि लुकीछिपी बस्दै आएको अवस्थामा वाग्लुङ बजारबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । छिपहरमाई गाउँपालिका–४ बस्ने वर्ष अन्दाजी ४० का अर्का आरोपी रामबाबु साह तेलीसमेत नौ जना भने अझै फरार छन् ।

परियार २०७१ मङ्सिर २४ गतेदेखि बेपत्ता भएकामा खोजतलास गर्ने क्रममा मङ्सिर २७ गते साविक कुश्मा नगरपालिका–९ हाल वडा नं ५ स्थित खोरीयापानीको जङ्गलमा उहाँको लाश फेला परेको थियो । मृतकका श्रीमान् अर्जुन दर्जीले १० जनाविरुद्ध किटानी जाहेरी दिनुभएकामा पक्राउ परेका तेलीलाई पर्वत जिल्ला अदालतबाट दिन १० को म्याद थप गराई अनुसन्धान गरिरहेको र अन्य अभियुक्तको खोजीकार्य जारी रहेको प्रहरी निरीक्षक राजन रायमाझीले बताउनुभयो ।