काठमाडौं, २४ माघ । बलराम प्यासी । ‘केही सेवाग्राहीहरु वडा कार्यालयमा आउँदा रक्सी खाएर आउँछन, कम्तिमा पनि कार्यालय समयमा एकजना प्रहरीलाई वडा कार्यालयमा खटाउनुपर्यो’ काठमाडौं महानगरपालिकाको १० नं वडाध्यक्ष रामकुमार केसीले काठमाडौं प्रहरी प्रमुखसंग माग राखे ।
कार्यक्रमको प्रमुख अतिथिको रुपमा रहेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख, वरिष्ठ प्रहरी उपरिक्षक (एसएसपि) बसन्त कुमार लामा थिए ।
महानगरको ३१ नं वडाका अध्यक्ष नारायण भण्डारीले भने ‘कोही त रक्सीमात्रै होइन खैनी, चुरोट, सुर्ती र पानपराग खाँदै आउँछन र जथाभावी फोहोर गर्छन, यसलाई नियन्त्रण गर्न पनि वडा कार्यालयमा एकजना प्रहरी खटाउनै पर्यो ।’
समुदाय—प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत गठन गरिएको १०, ३१ र ३२ वडा समितिका पदाधिकारीहरुसंगको छलफल तथा अन्तरकृया कार्यक्रममा ती दुवै वडाध्यक्षले आफ्नो कार्यालयमा प्रहरीको तत्काल आवश्यकता औँंल्याएका थिए । महानगरीय प्रहरी वृत्त नयाँबानेश्वर तथा सामुदायीक प्रहरी सेवा केन्द्र १०,३१ र ३२ ले संयुक्तरुपमा बुधबार महानगरको १० नं वडा कार्यालयमा सो अन्तरकृया कार्यक्रम आयोजना गरेको थियो ।
‘रक्सी र चुरोट खैनी खाएर आउने सेवाग्राहीलाई कार्यालयमा नआउनु भन्यो भने हामीले भोट दिएर जिताएका त हौं नि भनेर उल्टै धम्क्याउँछन र सहयोगको नाउामा पैसा माग्छन’—दुवै वडाध्यक्षले गुनासो गर्दै भने—‘यसको दीर्घकालिन समाधानको लागि कम्तिमा पनि कार्यालय समयमा एकजना नेपाल प्रहरी खटाउनुपर्यो ।’ नगरप्रहरीले त्यस्तालाई कारवाही गर्न नमिल्ने पनि वडाध्यक्षद्वयको भनाई थियो ।
गृह मन्त्रालयले गत कात्तिक ११ देखि शुरु गरेको समुदाय—प्रहरी साझेदारी कार्यक्रम अन्र्तगत काठमाडौं महानगरको १०, ३१ र ३२ गरि ३ वटा वडामा गठन गरिएका करीव ३ दर्जन समन्वय समितिका पदाधिकारीहरुको सहभागिता रहेको सो अन्तरकृया कार्यक्रममा वडाध्यक्षद्वयको मागलाई तत्काल सम्वोधन गर्दै वडामा गठन गरिएको समुदाय—प्रहरी वडा समन्वय समितिको कार्यालय अबदेखि वडा कार्यालयमा बस्ने व्यवस्था मिलाउन सम्वन्धित वडालाई आग्रह गरिएको थियो ।
प्रायः ११ सदस्य पदाधिकारी रहने समुदाय—प्रहरी समन्वय समितिमा नेपाल प्रहरीको तर्फबाट एकजना र सामुदायीक प्रहरीको तर्फबाट एक गरि दुईजना प्रहरीमध्ये जनपदको एकजना प्रहरी अबदेखि सम्वन्धित वडा कार्यालयको समन्वय समितिमा बस्नेछन । जसले गर्दा वडाको दैनिक काम कारवाही सुचारु रुपमा सञ्चालन गर्न सघाउ पुग्नेछ ।
पदाधिकारीहरुको भेलाले प्रहरीको सहभागितामा तीनवटै वडामा अवैध मदिरा उत्पादन तथा विक्री वितरणमा नियन्त्रण, मानव वेचविखन नियन्त्रण, यौनजन्य हिंसा नियन्त्रण, लागुऔषध दुरुपयोग तथा ओसारपसार नियन्त्रण, सडक दुंर्घटना नियन्त्रण, होस्टेल तथा होटेलहरुको अनुगमन लगायतका कार्य गर्नका लागि विभिन्न १३ वुँदे निर्णय पनि गरेको छ ।
कार्यक्रममा बोल्दै महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख, वरिष्ठ प्रहरी उपरिक्षक (एसएसपि) बसन्त कुमार लामाले समुदायको प्रत्यक्ष सहभागिता विना कुनै पनि अपराधका घटना रोकथाम तथा न्यूनिकरण गर्न नसकिने बताउँदै विना वर्दीका प्रहरीको रुपमा रहेका जनता र नेपाल प्रहरी मिलेर मात्रै समाज र राष्ट्रलाई अपराधमुक्त बनाउन सकिने बताए ।
त्यस अवसरमा महानगरीय प्रहरी वृत्त नयाँ बानेश्वरका प्रमुख, प्रहरी नायव उपरिक्षक गोविन्दराज काफ्लेले वृत्त मातहत रहेका तीनवटै वडामा स्थानीय तह, विद्यालय तथा कलेजमा गठन गरिएको समुदाय—प्रहरी समन्वय समिति अन्तर्गत सञ्चालित विविध कार्यक्रमबारे जानकारी गराए ।
कार्यक्रममा महानगरीय प्रहरी कार्यालय रानीपोखरीको सामुदायीक प्रहरी शाखाका प्रमुख, प्रहरी नायव उपरिक्षक राजेन्द्र पोखरेलले समुदाय प्रहरी वडा समन्वय समितिले गर्ने १३ वुँदे काम कारवाहीबारे जानकारी गराएका थिए ।
कार्यक्रममा महानगरीय प्रहरी कार्यालय रानीपोखरीको सामुदायीक प्रहरी शाखाका प्रमुख, प्रहरी नायव उपरिक्षक राजेन्द्र पोखरेलले समुदाय प्रहरी वडा समन्वय समितिले गर्ने १३ वुँदे काम कारवाहीबारे जानकारी गराएका थिए ।
त्यस अवसरमा मनोहरा सम्पदा समाजका अध्यक्ष पदमकुमार रेग्मीले पनि समुदाय प्रहरी साझेदारी कार्यक्रमले समेट्नुपर्ने कुरालाई जोड दिएका थिए ।










प्रतिक्रिया दिनुहोस्