समाचार

मौसम बदलीसँगै वर्षा र हिमपात : आइतबारदेखि मौसममा सुधार आउने



काठमाडौँ, २५ माघ । पश्चिमी वायुको न्यून चापीय प्रणालीका कारण बिहीबारदेखि मुलुकभर शुरु भएको वर्षा र हिमपात आज पनि जारी रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

पश्चिमबाट नेपाल प्रवेश गरेको यो मौसमी प्रणालीको प्रभाव गएरातिदेखि पूर्वतर्फ बढ्दै गएको महाशाखाले जनाएको छ । शनिबारसम्म पश्चिमबाट मौसममा केही सुधार देखिने बताइएको छ । पूर्वतिर भने शनिबार पनि अहिलेकै अवस्थाको बदली रहने जनाइएको छ । आइतबार भने तुलनात्मकरुपमा मौसममा केही सुधार आउनेछ ।

काठमाडौँ आसपासका क्षेत्रमा आज दिउँसो आकाश केहीबेर खुले पनि पुनःबदली भई वर्षा हुने बताइएको छ । दिनभर लगातार वर्षा भने नहुने, उच्च पहाडी र हिमाली क्षेत्रको तुलनामा तराईमा कम बदली हुने बताइएको छ ।

शनिबारसम्म मुलुकभर अधिकांश स्थानमा हल्कादेखि मध्यमखालको वर्षा तथा हिमपात र केही स्थानमा भारी वर्षा तथा हिमपातको सम्भावना देखिएको छ ।

आकाश खुल्ने र तुरुन्त घाम लाग्ने खालको नभएकाले दिउँसोको तापक्रम कम भई केही बढी चिसो महसुस हुनेछ । विभागले मौसमको तीन दिनको पूर्वानुमान गर्दै सूचना सार्वजनिक गरेको हो ।