राजनीति

विकास, समृद्धि र सुशासनमा भक्तपुर देशकै उदाहरणीय : सांसद बस्नेत



भक्तपुर, २७  माघ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य, पूर्वमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेतले विकास, समृद्धि र सुशासनमा भक्तपुर जिल्ला देशकै उदाहरणीय तथा मार्गनिर्देशक भएको बताउनुभएको छ ।

सूर्यविनायक नगरपालिका वडा नं ५ कटुञ्जे त्रिवेणी टोलमा भएको समस्याको बारेमा प्रत्यक्ष रुपमा जनताहरुसँग भेटघाट तथा छलफल कार्यक्रममा बोल्दै सांसद बस्नेतले आर्थिक अभावका कारण विकासबाट जनता बञ्चित हुनु नपर्ने बताउनुभयो ।

काठमाडौँ उपत्यकाको सुगमतालाई व्यवस्थित पहलकदमी गर्दै भक्तपुरले पनि त्यसको उपलब्धी हासिल गर्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, ‘संघिय सांसदहरुले आफ्नो कार्यक्षेत्र छोडी काठमाडौँ आई बस्नुपरेको जसका कारण प्रत्यक्ष जनताको समस्या तथा गुनासोहरु सुन्ने र समस्या समाधान गर्न नसक्ने परिस्थिती रहेको छ । तर भक्तपुर यस्तो जिल्ला हो जहाँ सदन चल्नुभन्दा केही समय अघि तथा केही समय पछि पनि जनतासँग एकाकार गर्न सकिन्छ । त्यसैले केन्द्रीय राजधानीको सुगमतासँगै भक्तपुरको विकासलाई व्यापकता दिनुपर्छ ।’

सरकारले भु–उपयोग ऐन बनाउने तयारीमा रहेको जानकारी गराउदै सांसद बस्नेतले आवास, नीजि, बन, खोला लगायतका क्षेत्रहरुलाई १० चरचणमा विभाजन गरिएको भू–उपयोग नीति आउने समेत जानकारी गराउनुभयो । उहाँले जग्गा एकिकरण आयोजना गर्ने जिल्लामा भक्तपुर पहिलो जिल्ला भएको बताउँदै कमेरोटार, मनोहरा, दिव्येश्वरी लगायतका ठाउँहरुमा एकिकरण आयोजना गरेको जानकारी गराउनुभयो ।

भक्तपुरमा ढल, सडक, शिक्षा, स्वास्थ्य, खानेपानी लगायतका सन्दर्भमा सम्बन्धीत निकायसँग सहकार्य गरी काम अघि बढाउने बताउँदै सघन सहरी विकास कार्यक्रमका माध्यमबाट विकासमा पछाडी परेको ठाउँहरुलाई विकास गर्ने समेत प्रतिवद्धता व्यक्त गर्नुभयो । त्यस्तै सम्पदा वस्ती विकासको कार्यक्रम पनि सरकारले चलाइरहेको जानकारी गराउँदै सांसद बस्नेतले सम्पदा वस्तीको लागी पुनःनिर्माण प्राधिकरणले काम अघि बढाइरहेको समेत जानकारी गराउनुभयो ।

खानेपानी तथा सरसफाई मन्त्रालयबाट ढलको लागि सूर्यविनायक नगरपालिकाको ६ वटा वडामा बजेट पार्न सफल भएको बताउँदै पूर्वमन्त्री समेत रहनुभएका सांसद बस्नेतले अबका दिनमा भक्तपुरमा विकासको गतिविधिलाई कसैले रोकेर रोक्न नसक्ने समेत बताउनुभयो ।

उहाँले भक्तपुरमा चलिरहेको हनुमन्ते नदी, अरनिको राजमार्ग सफाई अभियान, भक्तपुरलाई भ्रष्टचारमुक्त बनाउने अभियान लगायतका अभियानहरु देशकै लागि उदाहरणीय भएको बताउँदै भक्तपुरमा निर्माण भइरहेका राष्टिय गौरवका आयोजना निर्माण सम्पन्न भएपश्चात विकास र समृद्धिमा भक्तपुर देशकै उत्कृष्ट जिल्ला हुने समेत बताउनुभयो ।

देशमा विकास अहिलेको अपरिहार्यता रहेको बताउँदै सांसद बस्नेतले आगामी दिनमा तीनै तहका सरकारले यो या त्यो भने विकासलाई अल्मल्याउने काम गर्न नुहेन बताउनुभयो । विकास र समृद्धिको लागि जनताको साथ र सहयोग अपरिहार्य रहेको बताउँदै उहाँले स्थानीय जनप्रतिनिधिले विकासको योजना ल्याए त्यसको लागि आवश्यक पहल गर्न आफु जहिले पनि जनताको साथमा नै रहेको समेत बताउनुभयो ।