Banner News

युवापुस्ता देशभक्तिको भावना र स्वाभिमानी विचारबाट अभिप्रेरित हुनुपर्छ : मन्त्री पोखरेल



काठमाडौँ, ५ फागुन । उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले युवापुस्ता देशभक्तिको भावना र स्वाभिमानी विचारबाट अभिप्रेरित हुन आवश्यक रहेको बताउनुभएको छ ।

आज ललितपुरमा आयोजित राष्ट्रिय सेवा दलको १४औँ सिनियर डिभिजन तालीम दीक्षान्त कवाज कार्यक्रममा उहाँले युवा पुस्ताले राष्ट्रवादी भावनालाई उच्च महत्व दिएर काम गर्न सुझाव दिनुभयो ।

उपप्रधानमन्त्री पोखरेलले भन्नुभयो, “सामाजिक सद्भावको बलमा राष्ट्रिय भावनालाई बलियो तुल्याउने कार्यमा सहभागी हुँदै ‘समृद्ध नेपाल र सुखी नेपाली’ बनाउने सरकारको सङ्कल्पलाई अघि बढाउन तपाईंहरुले योगदान पु¥याउनुहोस् ।”

राष्ट्रिय सेवा दलले युवा पुस्तालाई अनुशासित, मर्यादित, संस्कारयुक्त, राज्यका संस्थाप्रति सम्मान र समर्पित हुँदै राष्ट्रियताप्रति बफादार भई नेतृत्व व्यक्तित्व विकासमा योगदान पु¥याउने उद्देश्यले २०२२ बाट यस प्रकारको तालीम सञ्चालन गर्दै आएको छ ।

सामान्य सैनिक कला, विपद् व्यवस्थापन र विपद्का नेतृत्वदायी भूमिका निर्वाह गर्न सक्षम बनाउने उद्देश्यले मुलुकभरका निजी तथा सरकारी विद्यालयमा अध्ययनरत छात्रछात्रलाई सेवा दलले तालीम प्रदान गर्दै आएको छ । हालसम्म ४३ हजार ६३२ जना क्याडेट छात्रछात्राले सफलतापूर्वक उक्त तालीम लिइसकेको सो अवसरमा जानकारी दिइयो । सेवा दलले यो आवमा २१६ विद्यालयका सात हजार ७०० छात्रछात्रालाई तालीममा सहभागी गराएको थियो ।

सेवा दलका अनुसार तीमध्ये सिनियर डिभिजनतर्फ एक हजार ८० र जुनियर डिभिजनतर्फ ६ हजार ६२० जना छन् । तीमध्ये आज ५१४ छात्रछात्रा दीक्षित भएका हुन् ।