समाचार

तिनकुने प्रहरीमा काव्यका विद्यार्थी : ‘वेवारिसे वृद्धवृद्धा र वालवालिका भेटे प्रहरीलाई खबर गर्नु’



काठमाडौं, ७ फागुन । विद्यालय जाँदा होस या अन्यत्र कतै जाँदा बाटोमा वेवारिसे वृद्धवृद्धा या वालवालिका भेटेमा तत्काल प्रहरीमा खवर गर्न महानगरीय प्रहरी वृत्त नयााबानेश्वरका प्रमुख, प्रहरी नायव उपरिक्षक (डिएसपि) गोविन्द राज काफ्लेले विद्यार्थीलाई भनेका छन ।

विद्यालय—प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत काव्य स्कुल नयाँबानेश्वरमा गठित विद्यालय समन्वय समितिमा आवद्ध विद्यार्थीहरुलाई पहिलोपटक सोमबार नयाँबानेश्वर वृत्तको काम कारवाहीबारे स्थलगत जानकारी गराउँदै डिएसपि काफ्लेले भने—‘कहिलेकाँही बाटो भुल्दा पनि वृद्धवृद्धा र केटाकेटीलाई समस्या पर्छ, त्यसैले त्यस्तो शंका लागेमा तत्काल प्रहरीलाई जानकारी दिनुपर्छ ।’

डिएसपि काफ्लेले विभिन्न समयमा बाटो भुलेका र हराएका वृद्धवृद्धा र वालवालिकाको नयाँबानेश्वर वृत्तले उद्धार गरि सम्वन्धित परिवार र आफन्तलाई बुझाएको पनि बताए । ‘समयमा उद्धार हुँदा वालवालिकामाथि हुनसक्ने नराम्रा घटनाबाट उनीहरुलाई जोगाउन सकिन्छ’—काफ्लेले भने—‘उनीहरुको उद्धार गर्ने पहिलो निकाय भनेकै प्रहरी हो ।’

डिएसपि काफ्लेले वृत्तले सम्पादन गर्दै आएको अपराध अनुसन्धान, विभिन्न मुद्धाको मिलापत्र, मुद्धा दर्ता, सवारी दुर्घटनामा पीडीत पक्षको उपचार र क्षतिपुर्ति तथा दोषिमाथिको कारवाही, चोरी, पाकेटमारी तथा विभिन्न घटना÷दुर्घटनाबारे विद्यार्थीहरुलाई जानकारी गराए ।

त्यस अवसरमा सो वृत्तको प्रहरी कन्ट्रोल शाखाका प्रहरी नायव निरीक्षक सुधन खड्का, उजुरी छानवीन शाखाका प्रहरी नायव निरीक्षक पुष्पराज थापा, अपराध अनुसन्धान शाखाका प्रहरी नायव निरीक्षक जगदिश खड्का, प्रहरी विद्यालय समन्वय शाखाका प्रहरी नायव निरीक्षक सुरेन्द्रविक्रम बर्ताैला, महिला तथा वालवालिका सेवा केन्द्रकी प्रहरी हवल्दार कल्पना कार्की, चोरी अनुसन्धान शाखाका प्रहरी हवल्दार अगम तामांग लगायतले आआफ्नो शाखाले गर्दै आएका काम कारवाहीबारे विद्यार्थीहरुलाई जानकारी गराए ।

त्यस अवसरमा विद्यार्थीहरुले वृत्तको नागरिक सहायता कक्ष, अपराध अनुसन्धान शाखा, महिला वालवालिका सेवा केन्द्र, कन्ट्रोल कक्ष, अभियुक्त थुनुवा कक्ष लगायतका कक्षाहरुको अवलोकन पनि गरेका थिए ।

काव्य स्कुल नयाँबानेश्वरका संस्थापक निर्देशक रिजन खड्काको नेतृत्वमा विद्यालयका शिक्षकद्वय विक्रम न्यौपाने र प्रसुन लामिछाने सहितको टोलीमा २९ जना विद्यार्थी सहभागी थिए । टोलीमा सामुदायिक प्रहरी सेवा केन्द्र १०, लाखेचौर बानेश्वरका इन्चार्ज, प्रहरी हवल्दार ताराराम दयाल र प्रहरी जवान उमेश कार्की पनि सहभागी थिए ।