समाचार

बलात्कारपछि हत्या गरी जलाउने युवक पक्राउ



धनुषा, ८  फागुन । धनुषामा ११ वर्षीया बालिकालाई बलात्कारपछि हत्या गरी जलाउने युवकलाई प्रहरीले पक्राउ गरेको छ ।

बालिकालाई हत्या गरी शव जलाएको धनुषाको बटेश्वर गाउँपालिका-४ बस्ने २२ वर्षका निरज जर्घा मगरलाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको हो ।

गत फागुन २ गते धनुषाको मिथिला नगरपालिका-३ बस्ने  ११ वर्षया दुतिया रसाइलीको बलात्कारपछि हत्या गरी शव जलाएको अवस्थामा घरनजिकैको उखुबारीमा फेला परेको थियो ।

फागुन १ गते राति बालिका दुतिया, मिथिला नगरपालिका ३ हरिहरपुर मगरटोलका ईन्द्रथापा मगरकी छोरी मन्दिरा थापाको बिहे भोज खान गएकी थिइन् । सोही घरमा निरज भने मदिरा, गाँजा तथा लागु पदार्थ सेवन गरी लठ्ठ थिए । उनले दुतियालाई चाउचाउ, फ्रुटी  किनेर दिइ फकाइ घर नजिकैको उखुबारीमा लगेर उनले दुतियालाई बलात्कार गरेपछि अनि आफ्नो पोल खुल्ने डरले बालिकाको घाँटी थिचेर हत्या गरेको प्रहरीले जनाएको छ ।

हत्यापछि उखुको पात बालिकाको जिउमा राखेर जलाएको तथ्य अनुसन्धानबाट पत्ता लागेको धनुषाका प्रहरीले बताएका छन ।