राजनीति

सांसद बस्नेतको मन्त्री मगरलाई प्रश्न : मेलम्चीले भत्काएको सडक र दुई ठूला ड्याम्प कहिले बन्छ ?



काठमाडौँ, १० फागुन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य, पूर्वउद्योगमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेतले मेलम्ची खानेपानी आयोजनाले भत्काएका सडक तथा भक्तपुरमा निर्माण प्रकृयामा रहेका दुई ठूला ड्याम्प कहिलेसम्ममा बन्छ ? भनि खानेपानी मन्त्री विना मगरलाई प्रश्न गर्नुभएको छ ।

आज संघिय संसदमा खानेपानी मन्त्रीसंग प्रश्नोत्तरमा बोल्दै सांसद बस्नेतले मेलम्ची खानेपानी आयोजनाका काम निर्धारित समयमा सम्पन्न नहुँदा सडक विस्तार, वातावरण प्रदुषण लगायतका समस्या आएको बताउँदै उहाँले त्यसको समस्या समाधान कहिलेसम्ममा हुन्छ ? भनि मन्त्री मगरलाई प्रश्न गर्नुभएको छ ।

उहाँले खानेपानी आयोजनाले पाइप विस्तारको क्रममा सडकको कुरुप भएको र जनताले सास्ती व्यहोर्नु परिरहेको भन्दै निर्माण सम्पन्न कहिलेसम्म हुने भन्ने जनताले जानकार हुनुपर्नेमा जोड दिनुभयो ।

पूर्वउद्योगमन्त्री समेत रहनुभएका सांसद बस्नेतले भक्तपुरमा निर्माण प्रकृयामा रहेका दुई ठूला ड्याम्प बनाउन ढिलाई बारे समेत मन्त्री मगरलाई प्रश्न गर्नुभएको छ । उहाँले भन्नुभयो, ‘महादेव खोला र साँगामा मेलम्चीको टनेल विग्रदा तथा त्यसलाई सफा गर्दा काठमाडौँ उपत्यकावासीले खानेपानीको रुपमा प्रयोग गर्न तथा पर्यटकीय गन्तव्यको रुपमा विकास गर्ने उद्देश्यका साथ निर्माणको प्रकृयामा अघि बढेको मेलम्ची खोपानीको विकल्पको रुपमा रहेको दुई वटा ठूला ठूला ड्याम्प (बाँध) बनाउने भन्ने प्रकृया अघि बढेको तर किन प्रकृयामा ढिलाई भएको ?’

सांसद बस्नेतले नेपाली उद्योगी व्यवसायीले मेलम्चीबाट भुत्तानी नपाएको भन्ने गुनासो आएको जुन भुत्तानी कहिलेसम्म हुन्छ ? भनि मन्त्री मगरलाई प्रश्न गर्नुभएको छ । उहाँले व्यवसायीको समस्या तत्काल समाधान गर्न मन्त्री मगरलाई आग्रह समेत गर्नुभयो ।

त्यस्तै उहाँले मेलम्ची खानेपानी आयोजनाका कारण सडक निर्माणको समस्या, वातावरण प्रदुषणको समस्या, उद्योगी व्यवसायीमा भएको समस्या समाधान गर्न काठमाडौँ उपत्यका र सिन्धुपाल्चोकका सांसदहरुसँगको बहस सञ्चालन गर्न मन्त्री मगरसँग माग समेत गर्नुभएको छ ।

बस्नेतको प्रश्नको जवाफमा खानेपानी तथा सरसफाइ मन्त्री विना मगरले स्वभाविक रुपमा भक्तपुरको महादेव खोला र साँगामा निर्माण हुँदै गरेको ड्याम निर्माण कार्यमा बस्नेतले विशेष पहल गर्नुभएको बताउनुभयो । मन्त्री मगरले भन्नुभयो, ‘यदि मेलम्चीको टनेलमा कुनै प्राविधिक कठिनाइ आयो भने त्यसको विकल्पको रुपमा महादेव खोला र साँगाको आयोजनाका बारेमा माननीय महेश बस्नेतले विशेष पहल गर्नुभएको छ । यसमा हामीले छलफल गरी अर्थमन्त्रालयमा यो बिषय पु¥याएका छौं ।’