समाचार

नख्खु एनसेल कार्यालयमा भएको बम विस्फोटका घाइते गुरुङको मृत्यु



काठमाडौँ, ११ फागुन । ललितपुरको नख्खुस्थित एनसेल कार्यालयमा भएको बम विस्फोटमा परेर गम्भीर घाइते भएका सिंहप्रसाद गुरुङको मृत्यु भएको छ ।

बम विस्फोटमा परेर गम्भीर घाइते भएका लमजुङको मेलुङ घर भई ललितपुर भैसेपाटी बस्दै आएका ४९ वर्षीय गुरुङको राति साढे १२ बजेतिर मेडिसिटी अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

विस्फोटमा अन्य दुईजना घाइते भएका छन । घाइते भएका काभ्रेको बनेपा घर भई अहिले मेडिसिटी अस्पतालमा कार्यरत स्टाफ नर्स २५ वर्षीया उरुषा मानन्धर र ललितपुर महानगरपालिका ४ बागडोलकी २६ वर्षीया प्रतिक्षा खड्काको मेडिसिटी अस्पतालमै उपचार भैरहेको छ । उनीहरूको अवस्था सामान्य रहेको बताइएको छ ।

शुक्रबार राति साढे ८ बजे बम विस्फोट भएको विष्फोटमा सुरक्षा गार्डको भूमिका शंकास्पद देखिएकाले प्रहरीले सुक्ष्म अनुसन्धान सुरु गरेको छ । एनसेलको गेटमा राखिएको सिसिटिभी फुटेज हेर्दा सुरक्षा गार्डको भूमिका शंकास्पद देखिएको हो । घटना अनुसन्धानका लागि केही व्यक्तिहरुलाई नियन्त्रणमा समेत लिइएको प्रहरीले जनाएको छ ।