काठमाडौँ, १५ फागुन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)की नेतृ तथा प्रतिनिधिसभा सदस्य मनाकुमारी जिसीले देशभरका अस्पतालहरु रिफर सेन्टरको रुपमा नभई जनताको बाच्न पाउने नैसर्गिक अधिकारको लागि सेवा प्रदायक हुनुपर्नेमा जोड दिनुभएको छ ।
मंगलबार संघिय संसदमा पूर्वस्वास्थ्य मन्त्री तथा प्रतिनिसिभाका सांसद खगराज अधिकारीले प्रस्तुत गरेको ‘स्वास्थ्य वीमा ऐनका कार्यक्रमलाई देशव्यापी रुपमा लागु गर्दै औषधी उपकरण र जनशक्ति व्यवस्था गरी सात वटै प्रदेशहरुमा पूर्ण क्षमताको अस्पतालको इमरजेन्सी, आइसियु लगायतको प्रवन्ध गरी सम्पूर्ण नागरिकहरुलाई सर्वसुलभ र गुणस्तरिय स्वास्थ्य सेवाको लागि कानुन नियम र निर्देशिका लागु गर्न आवश्यक भएको भन्ने सम्बन्धी जरुरी सार्वजनिक महत्वको प्रस्ताव’ प्रस्तावको समर्थकको रुपमा बोल्दै सांसद जिसीले विपन्न, गरिव, दलित, पिछडिएको वर्गका नागरिकले आर्थिक पहुँच पुर्याउन नसकेका कारण मृत्युको बाटो रोज्न बाध्य भएको बताउनुभयो ।
उहाँले मैलिक हक अन्तर्गत रहेको स्वास्थ्य सुविधा पाउने मानिसको नैसर्गिक हक तथा अधिकारलाई सुनिश्चित गर्नको लागि सवै तह र तप्काबाट लाग्नुपर्ने जसमा पनि कार्यान्वयन निकाय तथा सरकारले विशेष ध्यान दिनुपर्नेमा जोड दिनुभएको छ । सांसद जिसीले अस्पताल बनाउने, डाक्टरहरु पठाउने तर स्वास्थ्य सामग्री तथा साधन स्रोतहरु उपलब्ध नगराउने समस्याका कारण हजारौं नागरिकले अकालमै ज्यान गुमाउनु पर्ने बाध्यता रहेको बताउनुभयो ।
संविधानले नागरिकलाई प्रदत्त गरेका हक अधिकारमा विशेष गरी स्वास्थ्य र शिक्षालाई जनताले गम्भीर रुपले हेरिरहेको बताउँदै सांसद जिसीले जिल्ला अस्पतालमा उपकरण तथा विशेषज्ञ अभावका कारण जटिल रोग लागेका मानिसले सेवा लिन कठिन भइरहेको जानकारी गराउनुभयो । उहाँले अस्पतालमा उपकरण तथा विशेषज्ञ डाक्टर नभएका कारण लाखौं खर्च गरेर पोखरा, काठमाडौँ लगायतका सुविधा सम्पन्न अस्पतालमा रिफर गर्नुपर्ने बाध्यता रहेको बताउनुभयो ।
उहाँले स्वास्थ्य मन्त्रालयले जनमूखि कार्यको शुरुवात गर्दै गरेको जसमा कोशी अञ्चल अस्पताल, नारायणी उपक्षेत्रीय अस्पताल, विरगञ्ज, भरतपुर अस्पताल लगायतका अस्पतालमा सुविधाहरु रहेता पनि बाग्लुङ लगायतका जिल्ला अस्पतालमा एउटा आइसियु समेत नरहेको अवस्थाका विभिन्न प्रकारका दुर्घटना हुने र अस्पतालमा सेवा सुविधान नहुँदा नागरिकले पिडादायक मृत्युको बोटो रोज्न बाध्य हुने परेको बताउनुभयो ।
धैलागिरी अञ्चल अस्पतालमा आइसियु नभएकै कारण दुर्घटनामा परि पहिलो संविधान सभाका सदस्य हरी खड्कालाई पोखरा ल्याउने क्रममा समय ढिला भएका कारण मृत्यु भएको दुःखद् घटनालाई स्मरण गर्दै सांसद जिसीले सातवटै प्रदेशमा विशेषज्ञ तथा इमरजेन्सी सेवा, आइसियु सेवा, उपकरण सहितको जनशक्ति पुर्याउनु पर्नेमा जोड दिनुभयो । उहाँले औषधिको गुणस्तरियता कम भएको भन्ने गुनासो आएको बताउँदै सम्बन्धीत निकायले अनुगमन तथा मूल्याङ्कनलाई कडाइका गर्नुपर्नेमा जोड दिनुभयो ।
प्रत्येक वडामा स्वास्थ्य सेवा पुर्याउने लक्ष्य अनुरुप आएका चुनौतिलाई सामना गर्न स्थानीय, प्रदेश तथा संघिय सरकारले समन्वयकारी भूमिका निर्वाह गर्नुपर्ने बताउँदै सांसद जिसीले अपाङ्ग, तेस्रो लिङ्गी, बृद्धबृद्धा, मानव सेवा आश्रम, अनाथलाय, दलित लगायतका ठाउँमा बेसाहाराको रुपमा बसिरहेकालाई सरकारले नै स्वास्थ्य बीमा गराउनुपर्नेमा जोड दिनुभयो ।
सरकार सञ्चालनको एक वर्ष संघियता, सुशासन र समृद्धिको आधार तयार पारेको बताउँदै सांसद जिसीले सडक लगायतका विकास निर्माणका कार्यलाई थप व्यवस्थित गर्दै अघि बढ्नु पर्नेमा जोड दिनुभयो । सडक निर्माणका कारण एम्बुलेन्स लगायतका सवारी साधनलाई इमरजेन्सी अवस्थामा निर्धारित ठाउँमा पुग्न समस्या भएकाले समेत विरामीले अकालमा ज्यान गुमाउनु परेको भन्दै त्यसलाई विशेष ध्यान दिन सरकार समक्ष आग्रह समेत गर्नुभयो ।










प्रतिक्रिया दिनुहोस्