समाचार

आगलागी हुदाँ एकको मृत्यु, एक गम्भीर घाइते



डडेल्धुरा, १५ फागुन । डडेल्धुराको आलिताल गाउँपालिका–८ मा आगलागी हुदाँ एक जनाको मृत्यु भएको छ भने १ जना गम्भीर घाइते भएका छन् ।

मंगलबार राति गोदामबजारमा रहेको उत्तम थापाको किराना पसलमा आगलागी हुँदा उनकी ८ वर्षीया छोरी आरती थापाको जलेर मृत्यु भएको र थापाकी जेठी छोरी ११ वर्षीया निरुता थापा गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ  ।

गम्भीर घाइते निरुतालाई उपचारका लागि धनगढी लगिएको प्रहरीले जनाएको छ । आरती र निरुता थापा मैनबत्ती बालेर किताब पढीरहेको बेला मैनबत्ती ढलेर पसलमा आगलागी भएको थियो । आगो लागेर एक छोरी घाइते अवस्थामा आफैं घर बाहिर निस्किएपछि मात्रै परिवारलाई थाह पाएको बताएका छन  ।

स्थानीय र गाउँपालिकाको अग्रसरतामा आगो नियन्त्रणमा आइसकेको छ भने प्रहरीले यसबारे थप अनुसन्धान गरिरहेको जनाएको छ  ।