राजनीति

मन्त्री अधिकारीसहित ७ जनाको मृत्युप्रति सभापति देउवाद्वारा दुःख व्यक्त



काठमाडौँ, १६ फागुन । ताप्लेजुङमा आज भएको हेलिकोप्टर दुर्घटनामा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारी लगायत ७ जनाको निधन भएकोमा नेपाली कांग्रेसका सभापतिले मृतकहरुका परिवारजनमा समवेदनासहित मृतकहरुलाई श्रद्धाञ्जली व्यक्त गर्नुभएको छ ।

बुधबार एक विज्ञप्ति जारी गर्दै सभापति देउवाले विद्यार्थी जीवनदेखि संघर्ष गरेर अघि बढेका रविन्द्र अधिकारी नेपाली राजनीतिका उदयमान युवा नेताका अलावा व्यक्तिगत रुपमा भद्र र सुयोग्य भएको समेत उल्लेख गर्नुभएको छ ।

विज्ञप्ती

ताप्लेजुङमा आज भएको हेलिकोप्टर दुर्घटनामा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारी लगायत ७ जनाले जीवन गुमाएकोमा गहिरो दुःख लागेको छ । विद्यार्थी जीवनदेखि संघर्ष गरेर अघि बढेका रविन्द्र अधिकारी नेपाली राजनीतिका उदयमान युवा नेताका अलावा व्यक्तिगत रुपमा भद्र र सुयोग्य हुनुहुन्थ्यो । 

उहाँको आकस्मिक घटनामा निधन भएकोमा नेपाल सरकार, नेपाल कम्युनिष्ट पार्टी र उहाँको व्यक्तिगत परिवारजनप्रति गहिरो समवेदना व्यक्त गर्दछु ।

यति एयरका प्रबन्ध निर्देशक आङछिरिङ शेर्पाको निधनबाट मुलुकले एक सफल व्यवसायी गुमाएको छ भने यो दुःखद घटनामा नेपाल नागरिक उड्डयन प्राधिकरणका उपमहानिर्देशक वीरेन्द्रप्रसाद श्रेष्ठ, निर्देशक धु्रव भोछिभोया, उपसचिव युवराज दाहाल, हेलिकोप्टर क्याप्टेन प्रभाकर केसी र मन्त्री अधिकारीका सुरक्षाकर्मी अर्जुनकुमार घिमिरेको निधनले अत्यन्तै दुःखी बनाएको छ ।

दुर्घटनामा निधन भएका सबैको आत्माले शान्ति प्राप्त गरोस्, कामना गर्दै शोक सन्तप्त समस्त परिवारजनमा शोक सहने शक्तिका लागि भगवानसँग प्राथना गर्दछु ।

दुर्घटनाको कारण पत्ता लगाउन सरकारले तत्कालै गहिरो अध्ययन अनुसन्धानको प्रक्रिया अघि बढाउने विश्वास लिएको छु ।

शेरबहादुर देउवा
सभापति