काठमाडौँ, २० फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल निर्माणसम्मको यात्रामा सेनाले निर्वाह गरेको भूमिका र पु¥याएको योगदान इतिहासको स्वर्णीम पानामा अङ्कित भइरहने बताउनुभएको छ ।
सोमबार सेना दिवसका अवसरमा शुभकामना सन्देश दिँदै प्रधानमन्त्री ओलीले नेपाली सेनाको व्यावसायिक क्षमता वृद्धि गर्न सरकारले आवश्यक पहलकदमी लिने बताउनुभएको छ ।
उहाँले शुभकामना सन्देशमा भन्नुभएको छ, “राष्ट्रिय सुरक्षा र प्रतिरक्षाको गहन जिम्मेवारी बहन गरिरहेको नेपाली सेनाले सरकारको महत्वपूर्ण अङ्गका रुपमा यो राष्ट्रिय लक्ष्य हासिल गर्न उल्लेखनीय भूमिका निर्वाह गर्नेछ भन्नेमा म विश्वस्त छु ।”
‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय लक्ष्यका साथ अघि बढिरहेकाले सेनाले पनि त्यसै मर्मअनुसार काम गर्न अग्रसर हुनुपर्नेमा प्रधानमन्त्रीको सन्देशमा उल्लेख गर्नुभएको छ । प्रधानमन्त्री ओलीले सन्देशमा भन्नुभएको छ, “ यस अर्थमा सेना दिवस सम्पूर्ण नेपाली र राष्ट्रकै दिवस हो भन्ने मलाई लाग्दछ । सेना दिवसको यस सुखद् अवसरमा म नेपाली सेनाका सकल दर्जाको अतुलनीय राष्ट्रभक्ति, निष्ठा र कर्तव्यपरायणताको प्रशंसा गर्दछु ।”
प्रधानमन्त्री ओलीले प्राकृतिक विपत्तिका बखत उच्च हौसला, जोश र सेवा भावका साथ उद्धार कार्यमा खटिने समस्त सैनिकप्रति धन्यवाद ज्ञापन गर्नुभएको छ ।










प्रतिक्रिया दिनुहोस्