गोरखा, २१ फागुन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठले एकता नहोस् भन्ने प्रतिकृयावादीहरुलाई छिट्टै एकता गरेर जवाफ दिने बताउनुभएको छ ।
नेकपा सिरानचोक गाउँपालिकाले छोप्राकमा गरेको अगुवा कार्यकर्ता प्रशिक्षण कार्यक्रममा बोल्दै प्रवक्ता श्रेष्ठले पार्टीका दुई अध्यक्षले यसको गृहकार्य थालिसकेको भन्दै १५ दिनभित्र पार्टीको सांगठनिक एकताको टुंगो लाग्ने दाबी गर्नुभएको हो ।
सांगठिनक एकता नटुंगिएकै कारण तल्लो तहसम्म पार्टी पुग्न नसकेको भन्दै उहाँले सरकार र पार्टीको आलोचना गर्न चाहनेहरुलाई फाइदा पुगेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘हाम्रा साथीहरु अल्मलिनु भएको छ, वा कतिपयलाई त पार्टी एकता नै पो नहुने हो कि भन्ने लाग्न थालेको पनि हुन सक्छ, यो ऐतिहासिक अवसरलाई हामी गुम्न दिँदैनौं, एकता नहोस् भन्ने चाहनेहरुलाई हामी छिट्टै गतिलो जवाफ दिन्छौँ ।’
पार्टी एकता नटुंगिदै गुट उपगुटको चर्चा चल्न थालेकोमा नेता श्रेष्ठले आक्रोश व्यक्त गर्नुभयो । उहाँले कार्यकर्तालाई भन्नुभयो, ‘गुटको कुरा नसुन्नुहोस्, पार्टीको निर्णय मान्नुहोस् र पार्टीलाई आफ्नो सुझाव दिनुहोस् । गुटको कुरा गर्नेलाई लोप्र्याइदिनूस् ।’
पार्टीको घोषणापत्रमा उल्लेख भएअनुसार वृद्ध भत्ता बढाइने उहाँले दाबी गर्नुभयो । ‘पाँच वर्षभित्र वृद्धभत्ता पनि बढेर ५ हजार रुपैयाँ पुग्छ, ढुक्क हुनुहोस् ।’
गोरखालाई लक्षित गरेर सरकारले केही ठूला विकासका कार्यक्रम कार्यान्वयन गर्न लागेको उहाँले बताउनुभयो । खुल्ला विश्वविद्यालयको केन्द्रीय कार्यालय गोरखामै राख्नेबारे गृहकार्य थालिएको भन्दै प्रवक्ता श्रेष्ठले जिल्लामा जडिबुटी प्रशोधन उद्योग सञ्चालनबारे पनि अध्ययन भैरहेको जानकारी दिनुभयो ।
बुढीगण्डकी जलविद्युत आयोजना कुनै पनि हालतमा निर्माण सम्पन्न गर्न सरकार दृढ रहेको उहाँको भनाइ छ । त्यसै क्रममा नेकपा प्रवक्ता श्रेष्ठले विभिन्न आन्दोलनमा सहादत प्राप्त गरेका सिरानचोकका ३० शहिदका परिवारलाई सम्मान गर्नु भएको थियो ।










प्रतिक्रिया दिनुहोस्