राजनीति

शिक्षाको पहुँच वृद्धि, समाजका जातीय र छुवाछूतजन्य विभेद अन्त्य : सभापति पाल



काठमाडौँ, २२ फागुन । प्रतिनिधिसभा महिला तथा सामाजिक समितिको सभापति निरुदेवी पालले शिक्षाको पहुँच वृद्धि गर्नसकेमा मुलुकमा देखिएका जातीय र छुवाछूतजन्य विभेद अन्त्य हुने बताउनुभएको छ ।

प्रतिनिधिसभाअन्तर्गत महिला तथा सामाजिक समितिले प्रा डा चैतन्य मिश्रले ‘सामाजिक एवं सांस्कृतिक समावेशीकरणका मुद्दा’ मा गरेको छलफलमा सबै नागरिकमा शिक्षाको सहज पहुँच पु¥याउन सकेमा समाजका हुने सवै प्रकारका विभेदका अन्त्य हुने बताउनुभयो ।

सभापति पालले महिला तथा सामाजिक समितिले देशमा विद्यमान कुसंस्कार र कुरीतिलाई न्यूनीकरण गरी समतामूलक समृद्ध समाज निर्माण गर्ने उद्देश्यले समितिले निरन्तर सम्बन्धित क्षेत्रका विज्ञसँग सुझाव लिएर अगाडि बढ्ने बताउनुभयो ।

कार्यक्रममा प्रा डा मिश्रले भन्नुभयो, “समाजका सबै खालका विभेद अन्त्य गर्न नागरिकको समृद्धि जरुरी छ, त्यसका लागि कम्तीमा विद्यालयको आधारभूत शिक्षा गुणस्तरीय हुनुपर्छ, छुवाछूतजस्ता विभेदको जड अज्ञानता हो ।”

लोकतन्त्रले वर्गीय असमानतालाई तोड्नुपर्नेमा जोड दिँदै उहाँले कम्तीमा व्यक्ति जन्मेदेखि भोग्नुपर्ने विभेदलाई न्यूनीकरण गर्न भूमिका खेल्नुपर्ने जरुरी रहेको बताउनुभयो ।समाजका विद्वान् वर्गले जागीरे मानसिकता मात्र नराखी नयाँ तरिकाले ज्ञान निर्माणमा ध्यान दिनुपर्ने आग्रह प्रा डा मिश्रको छ ।