भक्तपुर, २४ फागुन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का युवा नेता, पूर्वउद्योगमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेतले अब भक्तपुर भ्रष्टाचार मुक्त जिल्ला बन्ने बताउँदै भ्रष्टाचारीलाई भक्तपुर जिल्लामा कुनै पनि छुट नहुने बताउनुभएको छ ।
क्रियाशिल पत्रकार मञ्च भक्तपुरले काठमाडौँको भोटेचौरमा आयोजना गरेको ‘नगरपालिका, समाचारका विषय र संचारकर्मी’ विषयक दुईदिने अन्तरक्रिया कार्यक्रममा बोल्दै सांसद बस्नेतले विकासका लागि केन्द्रीय सरकार, प्रदेश सरकार र स्थानीय सरकार बिच समन्वय हुनुपर्नेमा जोड दिनुभयो । उहाँले भक्तपुरलाई शुसासन युक्त र भ्रष्टाचार मुक्त जिल्ला बाउने अभियान सुरु भएको बताउदै भ्रष्टाचारीलाई भक्तपुरमा छुट नहुने बताउनुभयो ।
जनप्रतिनिधी आएपछि भक्तपुरको विकास तिब्र गतिमा भएको बताउदै नेकपाका केन्द्रीय सदस्य एवं सांसद बस्नेतले भन्नुभयो – “भक्तपुरको विकास तिब्र गतिमा भएको छ, यसवर्ष मात्रै सडकका लागि ५० करोड रुपैयाको बजेट ल्याएर सडक निर्माणको काम भईरहेको छ, गाउँ गाउँमा पक्कि सडक पुग्दैछ, भक्तपुरमा यसवर्ष मात्रै २५ किलोमिटर सडक बन्दैछ ।”
यसवर्ष हनुमन्ते करिडोर ६ किलोमिटर निर्माण सुरु भएको र आगामी वर्षसम्म करिडोर निर्माण सबै सम्पन्न हुने बताउदै पेप्सीकोला सल्लाघारी सडक, अरनिको राजमार्गको भक्तपुर प्रवेशको जडिबुटी र मध्यपुरथिमिको हनुमन्ते पुलसम्म गेट सहितको पुल बन्ने बताउनुभयो ।
कार्यक्रममा चाँगुनारायण नगरपालिकाका प्रमुख सोम प्रसाद मिश्रले पत्रकारहरुले खोज पत्रकारिता गर्न छाडेको बताउनु भयो । उहाँले तथ्यमा आधारित रहेर समाचार संकलन गर्न पत्रकारहरु पछाडि परेको बताउदै उहाँले कोठे पत्रकारितालाई त्याग्दै खोज पत्रकारितामा अग्रसर हुनुपर्नेमा जोड दिनुभयो ।
हचुवाको भरमा कपोकल्पित र मनगढन्ते समाचार लेखेर चर्चामा आउन खोज्दा पत्रकारिता जगत कै बदनाम भईरहेकाले समाचार तथ्यमा आधारित रहेर लेख्नु पर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा मध्यपुरथिमि नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठले पत्रकारहरुले समाचार लेख्दा चुनौती खेप्न नचाहने गरेको बताउदै पत्रकारहरुले खोजमूलक र गहन समाचार लेख्न चासो दिनुपर्ने बताउनुभयो ।
समाचारको फलोअप नगर्ने र हुबहु तथा चोरी समाचार आउनु बिडम्बना भएको उहाँको भनाई थियो । उहाँले भन्नुभयो– “फिल्ड मै गएर समाचार लेख्ने, समाचारको तथ्य र तथ्यांकको भेरिफिकेशन गर्ने, सम्बन्धित व्यक्तिसंग समाचारकाबारेमा वास्तविकता जानकारी नलिई हचुँवामा समाचार लेखेर अफवाह फैलाउने प्रबृत्ति हटाउनुपर्छ ।”
नगरपालिकाले शिक्षा, स्वास्थ्य खेलकुद, भौतिक पूर्वाधारका बारेमा गरेको विकासका कार्यहरु समाचार बन्न नसकेको चर्चा गर्दै प्रपोगाण्डा मच्चिने समाचारमा मात्रै ध्यान दिने कार्य गर्न नहुने उहाँको भनाई थियो । संविधानले स्थानीय सरकारलाई दिएको अधिकार कटौती गरेर पुनः विषयगत कार्यालयलाई अधिकार दिएर नगरपालिकाको अधिकार कटौती गर्ने षडयन्त्र भईरहेको भनाई राख्नुभयो ।










प्रतिक्रिया दिनुहोस्