समाचार

क्यान्सर विजेताको सम्मान : धम्मावती गुरुमाबाट १० लाख सहयोग



ललितपुर, २५ फागुन । १०९ औं अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा गत पुस २७ गते ललितपुरमा पहिलोपटक आयोजित ‘सुदिप्त क्यान्सर सर्भाइभर र्याम्प शो २०७५’ का सहभागी दुईदर्जन महिला र पुरुषलाई शुक्रबार सम्मानित गरियो ।

क्यान्सर लागेर उपचारपछि निको भएका क्यान्सर विजेतालाई सहभागी गराई नेपालमै पहिलोपटक गत पुस २७ मा जनचेतनामूलक र्याम्प शो आयोजना गरिएको थियो ।

नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टर हरिसिद्धि तथा नेपाल क्यान्सर सहयोग समूहको संयुक्त आयोजनामा उनीहरुलाई दुवै संस्थाका कार्यकारी अध्यक्ष तथा वरिष्ठ क्यान्सर विशेषज्ञ डा. सुदिप श्रेष्ठ तथा र्याम्प शोकी कार्यक्रम संयोजक स्वरुपा श्रेष्ठले उपहार दिएर सम्मान गरेकी थिइन ।

सोही अवसरमा बौद्ध धर्मकी गुरुमा धम्मावती शाक्यले निम्न आय भएका गरीव क्यान्सर विरामीको उपचारमा सघाउ पुर्याउने उद्धेश्यले नेपाल क्यान्सर सहयोग समूहको अक्षयकोषका लागि १० लाख रुपैयाँ सहयोग गरीन ।

कार्यक्रममा नेपाल क्यान्सर हस्पिटलका कार्यकारी अधयक्ष डा.सुदिप श्रेष्ठ, कार्यक्रम संयोजक स्वरुपा श्रेष्ठ, र्याम्प शोकी कोरियोग्राफर नेपालको पहिलो मोडेल डली गुरुंग, पूर्वमन्त्री तथा समाजसेवी अम्विका श्रेष्ठ, नेपाल क्यान्सर सहयोग समूहका महासचिव शशांक शर्मा र गायीका संगीता शाक्यलगायतले ‘क्यान्सर ठुलो रोग होइन, क्यान्सरपछि पनि जीवन छ’ भन्ने सन्देशलाई सर्वत्र फैलाउनुपर्ने कुरामा जोड दिए ।

त्यस अवसरमा क्यान्सर विजेताहरुले ‘सुदिप्त क्यान्सर सर्भाइभर र्याम्प शो २०७५’की कार्यक्रम संयोजक स्वरुपा श्रेष्ठको सम्मानमा केक काटेर खुवाउनुको साथै विभिन्न उपहार दिएर सम्मान गरेका थिए ।