कञ्चनपुर, २५ फागुन । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष अध्यक्ष कमल थापाले वर्तमान सरकारले बेरोजगारी समस्या समाधानका लागि अल्पकालीन तथा दीर्घकालीन कार्ययोजना ल्याउनुपर्ने माग गर्दै वर्षमा कम्तिमा पाँच लाख रोजगारी सिर्जना गर्ने गरी दीर्घकालीन आर्थिक विकासका योजना सञ्चालन गर्नुपर्नेमा जोड दिनुभएको छ ।
मेची महाकाली अभियान क्रममा कञ्चनपुर पुग्नु भएको राप्रपा अध्यक्ष थापाले आज महेन्द्रनगरमा पत्रकार सम्मेलन गर्दै उहाँले आगामी केही महिना भित्रै मुलुकमा राजनीतिक अस्थिरता र अराजकताको स्थिति सृजना हुन सक्ने सम्भावना रहेको दावी गर्नु भएको छ ।
सङ्गठित रुपमा लोभलालच देखाएर र भ्रम सिर्जना गरेर जबर्जस्ती धर्म परिवर्तन गराउने कार्य नियन्त्रण गरिनुपर्ने, धर्म परिवर्तनमा संलग्न गैरसरकारी संस्थालाई बन्द गरिनुपर्ने र गौ हत्या नियन्त्रण गरिनुपर्ने अध्यक्ष थापाको भनाइ थियो ।
मुलुकमा विकसित घटनाक्रम स्थिति गम्भीर बनाउँदै लगेको जिकिर गर्दै उहाँले विखण्डनकारी शक्ति मुलुकमा जल्दो वल्दो समस्याका रुपमा रहेको समेत बताउनु भयो । वर्तमान सरकारले चुनाव बेला पानी जहाजलाई मुख्य एजेन्डा बनाएको प्रति आपत्ति जनाउँदै उहाँले अहिलेको अवस्थामा पानी जहाज कुनै पनि हालतमा नचल्ने दावी गर्नुभयो ।










प्रतिक्रिया दिनुहोस्