Banner News

देशको अखण्डता र अविभाज्यता अहिलेको आवश्यकता : प्रम ओली



रौतहट, २६ फागुन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले देशको राष्ट्रियता, अखण्डता र अविभाज्यता अहिलेको अपरिहार्यता रहेको र सोही कुरालाई स्वीकार गर्दै संविधानप्रति ऐक्यवद्धता जनाउँदै सिके राउत राज्यको मुल धारमा आएको बताउनुभयो ।

नेकपाका प्रमुख तीन नेताले एकै मञ्चबाट तराई मधेसको विकासको लागि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र नेकपाको सरकार गम्भीर रहेको घोषणा गरेका छन् ।

रौतहटको गरुडामा नेकपाको प्रदेशस्तरीय आमसभालाई सम्बोधन गर्दै नेकपा अध्यक्ष एवें प्रधानमन्त्री ओलीले पृथकवादी राजनीतिको भविष्य नभइ देशको समृद्धि नै एकमात्र बाटो देखेर सिके राउत नेतृत्वको समूहले देशको अखण्डता र अविभाज्यतालाई स्वीकार गर्दै संविधानप्रति ऐक्यवद्धता जनाएको बताउनुभयो ।

प्रधानमन्त्री ओलीले नेकपाको एकीकरण पार्टी मोटाएर जीउ सुन्निएको देखाउनलाई मात्र नभएर देशको शान्ति र समृद्धिको सपना साकार पार्नलाई भएको बताउनुभयो । साथै उहाँले तराई मधेसको समृद्धिको लागि २५३ करोड रुपैयाँको विशेष अभियान चलिरहेको बताउँदै रौतहटमा आफू ४६ वर्ष अगाडि भूमिगत बसेको स्मरण गर्नुभयो ।

प्रधानमन्त्री ओलीले प्रदेश २ मा चलिरहेको विभिन्न ठूला योजनाको चर्चा गर्दै थप योजना पनि सञ्चालन गर्ने घोषणा गर्नुभयो । उहाँले ७० हजारभन्दा बढीको उपस्थित गरुडाको कार्यक्रममा प्रम ओलीले रौतहटको विभिन्न गाउँलाई सम्झेको पनि बताउनुभयो ।

पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले चार वर्षभित्र प्रदेश २ मा ठूलो परिवर्तन हुने बताउँदै आगामी निर्वाचनमा नेकपाको दुई तिहाई बहुमत आउने बताउनुभयो । पूर्व प्रधानमन्त्री माधव कुमार नेपालले विभेद, असमानता र अन्यायका साथै  नेकपाको आन्दोलनमा रौतहटको साथै तराई मधेसको भूमिका प्रशंसनीय रहेको बताउनुभयाे।

देशमा वामपन्थी आन्दोलन स्थापित गर्न तराई मधेसको भूमिका सबैभन्दा ठूलो भएको वरिष्ठ नेता नेपालले बताउनुभयो ।