राजनीति

काठमाडौँ महानगरको सीपमूलक तालिममा ४ गुणा बढी आवेदन



काठमाडौँ, २२ वैशाख । काठमाडौँ महानगरपालिकाले आयोजना गरेको सीपमूलक तालिममा मागभन्दा चार गुणा बढी आवेदन परेको छ ।

महानगरपालिकाले टुँडिखेलमा बुधबारदेखि सञ्चालन गरिरहेको सीप मेला–२०८१ मा २ हजार ८१ जनालाई नि:शुल्क सीपमूलक तालिम दिने र तालिम लिएकाहरूलाई ‘रोजगारी’, ‘स्वरोजगार’ र ‘अन द जब ट्रेनिङ’ उपलब्ध गराउने लक्ष्य राखेको थियो । त्यसमा ९ हजार ५ सय जनाले सहभागिताका लागि नाम दर्ता गराएको महानगरपालिकाले जनाएको छ ।

तालिम कार्यक्रममा रोजगारदाता (सरकारी, गैरसरकारी, निजी, उद्योग तथा वाणिज्य क्षेत्र, दातृ निकाय), शैक्षिक क्षेत्र (विद्यालय, विश्वविद्यालय र तालिम प्रदायक संघसंस्था), सामाजिक क्षेत्र सबै एकै ठाउँ छन् । तालिममा उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ, नेपाल (हिसान), नेपाल उद्योग परिसंघ (सीएनआई), नेपाल तालिम तथा रोजगार व्यवसायी महासंघ (एफपीटीईएन), ग्लोकल, सिप्रदी ट्रेडिङ र सीसीटीभी स्टेसन एन्ड स्मार्ट होमसँग तालिम सञ्चालन गर्न सहकार्य भएको महानगरपालिकाले जनाएको छ ।

सीप मेलामा तालिमका लागि १० वटा क्षेत्र निर्धारण गरिएको छ । अटोमोबाइल्स, अटो एयर कन्डिसन, मोटरसाइकल र स्कुटर रिपेयर, इलेक्ट्रिकल कार रिपेयर, सिकर्मी, टायल एन्ड मार्बल फिटर, इलेक्ट्रिसियन र प्लम्बिङलगायत तालिम छन् । सीप विकासका लागि महानगरपालिकाले सञ्चालन गरेका अरु पनि तालिमका कार्यक्रम छन् । सामुदायिक विद्यालयको कक्षा ९ र १० मा ‘पुस्तकरहित शुक्रबार’ कार्यक्रमअन्तर्गत छोटो अवधिको सीपमूलक तालिम सञ्चालन हुन्छ ।

महानगर गौरव योजनाअन्तर्गत ‘रोजगारी र आय वृद्धि, काठमाडौंको समृद्धि’ कार्यक्रममा ३४ भन्दा धेरै पेसाका सीपमूलक तालिम छन् । ‘साइबर सेक्युरिटी’ मा ४ हजार व्यक्ति तालिम प्रदान गरिँदै छ । नजानेकालाई सीप सिकाउने, सीपको आधारभूत तालिम लिएकालाई स्तरोन्नति गराएपछि बजारमा सीपयुक्त जनशक्ति उपलब्ध हुनेछन् । यी सबै कार्यक्रमबाट उत्पादन भएका जनशक्तिहरूलाई ‘सीप मेला’ मा रोजगारदाताहरूसँग सम्पर्क गराउनु मेला आयोजनाको अर्को उद्देश्य रहेको महानगरपालिकाको भनाइ छ ।