राजनीति

जघन्य अपराध र अपराधीप्रति कठोर पनि बन्नुस् : आइजीपी खनाल



काठमाडौँ, १ चैत । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले देशमा शान्ति सुरक्षा तथा अमनचयन स्थापना गर्दा आउने कुनै पनि चुनौतिसँग मातहतका प्रहरी कर्मचारीलाई नडराउन आग्रह गर्दै संगठन भित्र भएको वेतिथी आफ्नो पालामा नै अन्त्य गरेरै छोड्ने प्रतिवद्धता व्क्त गर्नुभएको छ ।

झापामा सडक दुर्घटना न्यूनिकरण महाअभियान अन्तरगत दोस्रो चरणको कार्यक्रम उद्घाटन गर्दै खनालले जस्तोसुकै चुनौतिसँग नडराइ उच्च मनाबेलका साथ काम गर्न निर्देशन दिंदै भन्नुभयो, ‘प्रहरी संगठनभित्र केही कमिकमजोरी छन् । बेथिति छन् । तर, त्यसलाई रोक्न म लागि परेको छु, आफ्नै कार्यकालमा सुधारेर देखाउँछु । भ्रष्टाचारविरुद्ध शुन्य सहनशीलताको नीतिलाई अक्षराशः पालन गरेर नागरिकको सेवामा तल्लीन हुनुस्, जघन्य अपराध र अपराधीप्रति कठोर पनि बन्नुस् ।’

झापासहित मुलुकका सीमावर्ती जिल्लाहरुमा मदिरा र लागूऔषधको प्रयोग बढेको उल्लेख बताउँदै उहाँले त्यसलाई रोक्न विशेष कार्ययोजना लागू गरेर आक्रमक बन्न पनि प्रहरीलाई निर्देशन दिनुभयो । महिला हिंसा, सडक दुर्घटना न्यूनिकरण, लागूऔषध लगायत संगठनका विविध प्राथमिकताका विषयमा नेपाल प्रहरीले सूचना, सचेतना तथा साझेदारिताका कार्यक्रम जारी राखेको पनि उहाँले बताउनुभयो ।

कार्यक्रममा खनालले प्रतिकात्मक रुपमा प्रदेश १ का ५ जना चालक र सह–चालकलाई चालक ड्रेस कोड लगाइदिएर १५ दिने सडक दुर्घटना न्यूनिकरण अभियानको शुभारम्भ गर्नुभएको थियो । सोही अवसरमा साहारा नेपाल नामक संस्थाको अगुवाइमा बिर्तामोड नगरपालिकाभित्र रहेका विभिन्न संघसंस्थाबाट प्राप्त १०÷१० वटा मोटरसाइकल, ब्रेथलाइजर र सवारी साधन ह्वील लक ट्राफिक प्रहरीलाई हस्तान्तरण गरियो ।