विराटनगर, ४ चैत । उपप्रधानमंत्री एवम् संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवले नेत्र विक्रम चन्द नेतृत्वको समूहलाई सरकारले लगाइएको प्रतिबन्ध प्रत्येक राज्यले गर्नै पर्ने दायित्व मध्येको एक भएको बताउनुभएको छ ।
विराटनगरमा संचारकर्मीसँग कुरा गर्दै उपप्रधानमन्त्री यादवले उक्त समुहले देशको शान्ति, अमनचय तथा जनताले शान्तिपूर्ण बाच्न पाउने नैसर्गिक अधिकारलाई समेत हनन गरेको बताउनुभयो । उहाँले कुनै पनि राजनीतिक समस्यालाई वार्ता तथा छलफलको माध्यमबाट समाधान गर्न सकिने भन्दै उहाँले विप्लव समूहले आतंककारी गतिविधि गरेकाले उक्त समुहलाई कुनै पनि गतिविधि गर्न नपाउने गरी प्रतिवन्ध लगाएको दावि गर्नुभयो ।
उहाँले लुटपाट, आगजनी, बम विस्फोट लगायता गतिविधिहरु विप्लव समुहले तिव्रता दिएका कारण नै प्रतिवन्ध लगाइएको जिकिर गर्नुभयो । उहाँले सिके राउत संग भएको ११ बुँदे सम्झौताले गठबन्धन राजनैतिक मूलधारमा आएको र त्यसमा जनमत संग्रहको कुरा कतै उल्लेख नभएको दावी समेत गर्नुभएको थियो ।
उपप्रधानमन्त्री यादवले अहिलेकै अवस्थामा सरकारबाट बाहिरिने कुनै सोच नभएको स्पष्ट पार्नुभएको छ । राजपासँग बृहत्तर एकताका लागि प्रयास भईरहेको भएपनि राजपाकै कारण सरकार नछाड्ने बताउनु भएको हो । राजपा कहिल्यै सरकारमा नजाने भए मात्रै सरकारबाट बाहिरिने बारे सोच्न सकिने व्यंग्य समेत गर्नु भयो ।










प्रतिक्रिया दिनुहोस्