समाचार

२६ हजार कुखुरा नष्ट : बाँकी पाँच दिनभित्र नष्ट गरि सक्ने



हेटौँडा, ५ चैत्र । हेटौँडा उपमहानगरपालिका–७ नागस्वतीका विभिन्न स्थानमा आइतबार रातिसम्ममा बर्ड फ्लू रोगबाट प्रभावित २६ हजार पाँच सय कुखुरा नष्ट गरिएको छ भने बाँकी पाँच दिनभित्रमा नष्ट गरिसक्ने लक्ष्य बनाइएको छ ।

काठमाडौँबाट आएको पशु चिकित्सक तथा प्राविधिकको टोलीले शनिबारदेखि प्रभावित क्षेत्रका कुखुरा र अण्डा नष्ट गर्ने अभियानलाई तीव्रता दिइएको बताइएको छ । उक्त क्षेत्रमा कृषकका २८ फार्मका ४२ हजार सात सय कुखुरा र चल्ला बर्ड फ्लू रोगबाट प्रभावित भएको जिल्ला पशुसेवा कार्यालय मकवानपुरले जनाएको छ ।

आज एक दिनका लागि प्राविधिकले आवश्यक पोशाक र रसायन जुटाउन कुखुरा नष्ट गर्ने अभियान स्थगन गरिएको कार्यालयले बताएको छ । रोग प्रभावित कुखुरा नष्ट गर्न बर्ड फ्लू प्रभावित क्षेत्रमा कृषक समूह, प्रहरी, जिल्ला प्रशासन कार्यालय मकवानपुरका प्रतिनिधि र काठमाडौँबाट आएका प्राविधिक टोली खटिएका छन् ।