काठमाडौँ, ९ चैत । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले २०७५ देखि २०८० सम्म सडक युग र त्यसपछि सुरुङ युग आउने बताउनुभएको छ ।
बुटवल–नारायणगढ सडक विस्तार आयोजनाको बुटवलमा शिलान्यास गर्दै प्रधानमन्त्रीले सडक निर्माणका लागि ढुंगा, गिटी बालुवाको कमी नहुने भन्दै उहाँले पहाड फोरेर पनि काम नरोकिने बताउनुभयो । प्रधानमन्त्री रुपन्देहीको सिद्धबाबा खण्डमा पनि छिटै सुरुङ मार्ग बन्ने समेत जानकारी गराउनुभयो ।
प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘आँखा खोल्दा जता ततै बिकास र उन्नतीका काम अघी बढेको देखिएला भन्ने पीरले केही केही बिरोधिहरु आँखा चिम्लिएर अन्धाधुन्त बिरोधमा उत्रिएका छन ।’ पूर्व पश्चिम रेल मार्ग पनि छिटै बन्ने बताउँदै प्रधानमन्त्री ओलीले गौतमबुद्ध जन्मस्थललाई लुम्बिनी जस्तै पवित्र र स्वच्छ बनाई पर्यटन प्रवद्र्धन गर्नुपर्नेमा जोड दिनुभयो ।
पालमा खनिज, पेट्रोल, फलाम, सुन जस्ता खानी रहेकाले नेपाल आफैंमा सम्पन्न राष्ट्र भएको उहाले बताउनुभयो । प्रधानमन्त्री ओलीले कतिपयले विदेशी सहयोग आउँदैन भनेर हल्ला चलाउन थालेको भन्दै उहाँले नेपाल मगन्तेहरुको देश नभएकाले आफ्नै देशका प्राकृतिक स्रोत सदुपयोग गरेर समृद्ध मुलुक बनाइने बताउनुभयो ।
‘सडक चौडा बनाउँदा पनि बर्बाद भो भनेका छन्, एअरपोर्ट बनाउन थालेपनि बर्बाद भो भनेका छन्, झन् विप्लव समूहका हिंसात्मक गतिविधि नियन्त्रण खोज्दा त झनै बर्बाद भो भनेर कराउन थालेका छन् । तर, सरकार समृद्ध नेपाल र सुखी नेपाली बनाउने अभियानमा दृढ भएर अघि बढेको छ ।’
प्रधानमन्त्री ओलीले हिंसा र अशान्तिको युग सकिएको दावी गर्नुभयो । प्रधानमन्त्री ओलीले नेपालमा लामो राजनीतिक आन्दोलन पश्चात गणतन्त्र आएका बताउँदै अब बम पड्काउन, मान्छे मार्न र उत्पात मच्चाउन नपाइने स्पष्ट पार्नुभएको छ । उहाँले भन्नुभयो, ‘बम पड्काउन, मान्छे मार्न र उत्पात मच्चाउन पाइदैन, कानुन अनुसार कारवाही हुन्छ, प्रतिवन्ध लगाइन्छ ।’










प्रतिक्रिया दिनुहोस्