राजनीति

क्षमतावान् खेलाडीको स्थायी जीविकोपार्जनको व्यवस्था सरकारले लिन्छ : मुख्यमन्त्री राउत



धनुषा, १२ चैत । प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले खेलमै आफ्नो जीवन समर्पण गर्ने क्षमतावान् खेलाडीको स्थायी जीविकोपार्जनको व्यवस्था गर्ने नीति प्रदेश सरकारले लिने बताउनुभएको छ ।

जनकपुरधाममा सोमबारदेखि शुरु भएको तेस्रो शहीद कप क्रिकेट प्रतियोगिताको उद्घाटनमा मुख्यमन्त्री राउतले देशलाई विश्वसामु चिनाउने खेलाडीको मनोबल उच्च राख्न प्रदेश सरकारले कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता जनाउनुभयो ।

आन्तरिक मामिला तथा कानूनमन्त्री ज्ञानेन्द्रकुमार यादवले खेलकूद असल र अनुशासित नागरिक निर्माण गर्ने मूल स्रोत रहेकाले क्षमतावान् खेलाडी पहिचान गर्न वडास्तरबाटै प्रतियोगिता गराउने क्यालेण्डर निर्माण गरेर प्रदेश सरकार अघि बढ्ने उल्लेख गर्नुभयो ।
भौतिक पूर्वाधार विकासमन्त्री जितेन्द्र सोनलले प्रदेश नं खेलाडीको उर्बर भूमि रहेको उल्लेख गर्दै खेलाडीलाई उजागर गर्न प्रदेश सरकार हर संभव प्रयास गर्ने बताउनुभयो ।

चैत १९ गतेसम्म चल्ने प्रतियोगितामा नेपालबाट आयोजक जनकपुर, कलैया, विराटनगर, भैरहवा र काठमाडाँै तथा भारतबाट पटना, दरभङ्गा र कानपुर गरी जम्मा आठ टोली सहभागी छन् ।