काठमाण्डौ, १३ चैत । सरकारले मलेसियाको रोजगारी खुलाउनका लागी श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले सूचना निकाली कामदारको स्वास्थ्य परीक्षण गर्ने स्वास्थ्य संस्थालाई नयाँ दर्ता आह्वान गरेको छ ।
पछिल्लोपटक बन्द रहेको मलेसिया र नयाँ प्रक्रियाबाट जापानमा रोजगारी खोल्न तयारी हुँदै गर्दा मन्त्रालयले स्वास्थ्य परीक्षण गर्न इच्छुक संस्थाहरूको सूचीकरणका लागि बुधबार निवेदन आह्वान गरेको हो ।
वैदेशिक रोजगार नियमावली २०६४ र स्वास्थ्य संस्था सूचीकरण, नवीकरण तथा अनुगमनसम्बन्धी कार्यविधि २०७२ मा स्वास्थ्य परीक्षण गर्ने संस्थाहरुको सूचीकरण गर्नुपर्ने व्यवस्था छ । त्यही अनुरुप सूचीकरण प्रक्रिया अघि बढाएको मन्त्रालयले जनाएको छ ।
मन्त्रालयले सार्वजनिक सूचना जारी गरी सूचीकरणका लागि इच्छुक संस्थालाई १० दिनभित्र आवेदन दिन भनेको छ । नेपाल र मलेसियाबीच भएको श्रम समझदारीमा स्वास्थ्य परीक्षणलगायतका अरु सबै प्रक्रिया निःशुल्क हुने र त्यसको खर्च मलेसियाका रोजगारदाताले नै बेहोर्ने उल्लेख छ ।
मलेसिया रोजगारीका नाममा ठगी गर्ने बायोमेट्रिक, भीएलएन, माइग्राम, आईएससी, ओएससीजस्ता संस्थालाई कारवाही गरेपछि गएको जेठदेखि मलेसियाको रोजगारी बन्द भएको थियो ।










प्रतिक्रिया दिनुहोस्