शैक्षिक

एसईई परीक्षा स्थगित : पुनः तालिका प्रकाशित हुने



संघीय सरकारले प्रदेश २ को माध्यमिक शिक्षा परीक्षा (एसईई)का बाँकी परीक्षा स्थगित गर्ने निर्णय लिएको छ । प्रदेश नं. २ बाहेकका अन्य प्रदेशहरुमा भने परीक्षा जारी रहनेछ ।

बिहीबार विज्ञान र शुक्रबार सामाजिक विषयको प्रश्नपत्र बाहिरिएपछि शिक्षा मन्त्रालयले प्रदेश २ मा २१ गतेसम्मका सबै परीक्षा स्थगित गर्न राष्ट्रिय परीक्षा बोर्डलाई निर्देशन दिएको छ ।

मन्त्री गिरिराजमणि पोखरेलले स्थगित परीक्षा यसै महिनाभित्र हुने गरी तालिका प्रकाशित गर्ने जानकारी दिनुभयो । मन्त्री पोखरेलका अनुसार बिहीबार रद्द भएर २२ गतेका लागि तय भएको विज्ञान विषयको परीक्षा भने त्यही दिन हुनेछ । स्रोतका अनुसार २२ गतेदेखि जोडेर बाँकी परीक्षा गर्ने तयारी छ । मन्त्री पोखरेलले प्रश्नपत्र आउट गर्नुलाई आपराधिक घटना भएको र संलग्नलाई कारबाही गरिछाड्ने बताए ।

आइतबारदेखि शुरु भएको परीक्षाको पहिलो दिन अनिवार्य अंग्रेजी, सोमबार अनिवार्य नेपाली विषयको परीक्षा भएको थियो । शिक्षा मन्त्रालयकाअनुसार अंग्रेजी, नेपाली र गणितको परीक्षा भने रद्द हुने छैन ।