काठमाडौँ, २१ चैत । नेकपा अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले रोजगारी सिर्जनाका लागि शिक्षा नीति सुधार गर्नुपर्ने बताएका छन् ।
काठमाडौँमा बुधबारदेखि शुरु भएको राष्ट्रिय विकास परिषद्को बैठकमा बोल्दै अध्यक्ष प्रचण्डले नपढेको भन्दा पढेको जनशक्ति विदेश पलायन हुने क्रम बढ्दै गएकाले रोजगारी सिर्जनाका लागि शिक्षामा गुणात्मक सुधार हुनुपर्ने बताएका छन ।
उनले भने, ‘देशभित्र काम गर्नेभन्दा विदेशमा गएर जागिर खोज्ने प्रवृत्ति बढ्दो छ र देशभित्र उत्पादनशील जनशक्ति घट्दो छ । यो के कारणले भयो भनेर गहिरिएर हेर्ने हो भने मुख्य कुरा शिक्षामै छ ।’ साथै ‘हामीले २५ वर्षसम्मको योजनामा विचार गर्दा अब कस्तो जनशक्ति तयार पार्ने भन्ने कुरालाई सबैभन्दा माथि राख्नुपर्दछ भन्ने मलाई लाग्दछ ।’
प्रचण्डले विद्यालयदेखि विश्वविद्यालयसम्म व्यवसायिक शिक्षामा प्राविधिक शिक्षामा, उत्पादन वृद्धि र रोजगारी सिर्जना गर्ने शिक्षालाई विशेष प्रथामिकता दिनुपर्ने बता उदै उनले भने, ‘हामीले त्यस्तो शिक्षा दिन थाल्यौं भने स्वतः त्यसबाट उत्पादित जनशक्ति नेपालको वस्तुगत परिस्थिति अनुसार उसले कृषिमा आधुनिकीकरण, कृषिको व्यवसायीकरण, कृषिको विविधीकरण गर्ने र कृषिमा आधारित उद्योगहरु स्थापना गरेर उत्पादन वृद्धि र रोजगारी सृष्टि गर्ने कुरामा केन्द्रित हुनसक्दछ ।’










प्रतिक्रिया दिनुहोस्