काठमाडौँ, २२ चैत । दीर्घकालीन सोचसहितको पन्ध्रौँ पञ्चवर्षीय योजनाको आधारपत्र पारित भएको छ ।
काठमाण्डौमा बुधबारदेखि आजसम्म चलेको राष्ट्रिय विकास परिषदको बैठकले आधारपत्र पारित गरेको हो । आयोगले तयार पारेको आर्थिक वर्ष ०७६र०७७ देखि ०८०र०८१ सम्मको विकास रणनीतिको मस्यौदामाथि बैठकमा छलफल भएको थियो ।
आधारपत्रको मस्यौदामा मन्त्रीहरु, सबै सचिवहरु, प्रदेशका मुख्यमन्त्री र मन्त्री, प्रदेश सचिव, महानगरपालिकाका मेयर, अर्थविदलगायतको ६ वटा समूहले सुझाव दिएको थियो । आयोगले समृद्ध नेपालको लागि ४ र सुखी नेपालीका ६ वटा सोचलाई आधार बनाएर दीर्घकालीन सोचसहितको पन्ध्रौँ योजनाको मस्यौदामा समेटिएको छ ।
पन्ध्रौँ पञ्चवर्षीय योजनाको मस्यौदामा विक्रम संवत २०८१ सम्म आर्थिक वृद्धिदर १०.३ प्रतिशत पुर्याउने, प्रतिव्यक्ति आय १६०० अमेरिकी डलर पुर्याउने, गरिबी १३ प्रतिशतमा झार्ने, साक्षरता दर ९० प्रतिशत पुर्याउने, विद्यालय भर्नादर ९९.५ प्रतिशत पुर्याउने उल्लेख छ ।
यस्तै बेरोजगारी दर ११ बाट ६ प्रतिशतमा झार्ने, १५ हजार किमि कालोपत्रेसहितको लोकमार्ग हुने, ७६ प्रतिशत द्रुतमार्ग हुने, ११२ किमि रेलमार्ग बनाउने, ९९ प्रतिशत परिवारमा बिजुली पुर्याउने, ७५ प्रतिशमा इन्टरनेट पुर्याउनेलगायतका लक्ष्य पनि पन्ध्रौँ योजनाको मस्यौदामा उल्लेख छ ।
८ महिनाअघि तयार पारिएको योजनाको मस्यौदा परिषद बैठकले पारित गरेसँगै अब मन्त्रिपरिषदमा पेश गरिनेछ ।










प्रतिक्रिया दिनुहोस्