पर्सा, २२ चैत । सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले कर्मचारी समायोजन पश्चात तत्कालै लोकसेवाको आवेदन खुल्ने भएकाले सम्पूर्ण नेपाली युवाहरुलाई परीक्षाको तयारीमा बस्न आग्रह गर्नुभएको छ ।
नेपाल प्रजापति (कुम्भकार) सङ्घको शुक्रबार वीरगञ्जमा आयोजित सातौँ राष्ट्रिय महाधिवेशको उद्घाटन गर्दै मन्त्री पण्डितले सरकार चाँडै २० हजार कर्मचारी भर्नाका लागि लोकसेवा आयोग खुला गर्ने तयारीमा रहेको जानकारी गराउनुभयो । उहाँले कर्मचारी समायोजन समाप्त भएपछि मुलुकमा कर्मचारीको ठूलो अभाव देखिएकाले पहिलो चरणमा लोक सेवामार्फत त्यो परिमाणमा कर्मचारी भर्ना गर्ने तयारी भइरहेको जानकारी दिनुभयो ।
मन्त्री पण्डितले तराई–मधेश समृद्धि आयोजनामार्फत पूर्वाधारको विकासमा सरकार लागेको र बेरोजगार युवालाई भत्तासमेत वितरण गर्ने नीति लिएको स्पष्ट पार्नुभयो । उहाँले देशमा रहेको गरीबी, अशिक्षा र पछौटेपना अन्त्य गर्न सरकार प्रयासरत रहेको र यसका लागि विभिन्न योजना सञ्चालनमा ल्याएको बताउनुभयो ।










प्रतिक्रिया दिनुहोस्