राजनीति

‘काठमाडौं महानगरले सहरी योजना आयोग गठन गर्ने



काठमाडौँ, २६ चैत । काठमाडौं महानगरपालिकाले आफ्नै सहरी योजना आयोग गठन गर्ने भएको छ ।

आयोग गठन र सञ्चालनका लागि महानगरपालिकाले ऐन नै बनाएर तयार पारेको ‘सहरी योजना आयोग बिधेयक, २०७५’ नगरसभाबाट समेत पारित भइसकेको छ । अब प्रमाणीकरण भएपछि यो कार्यान्वयनमा आउने जनाएको छ  ।

महानगरपालिकाको नीति तथा योजना तयार गर्ने र त्यसको कार्यान्वयनमा सहयोग गर्ने, स्थानीय तथ्याकं र अभिलेख संकलन गर्ने गर्ने काम यो आयोगले गर्ने साथै स्थानीय स्तरका विकास आयोजना तथा परियोजनाहरुको अध्ययन, अनुसन्धान, विश्लेषण, अनुगमन, सुपरिवेक्षण तथा मुल्याकंनको काम समेत आयोगबाट हुनेछ ।

स्थानीय सरकार सञ्चालन ऐन २०७४ ले संघ र प्रदेशसँग नबाझिनेगरी ऐन–कानून बनाएर कार्यान्वयनमा ल्याउने अधिकार स्थानीय तहलाई दिएको छ । आयोगमा सरोकारवाला निकायबाट प्रतिनिधित्व रहनेगरी एक जना महिला सहित ९ जना सदस्य प्रमुखले नियुक्त गर्ने प्रावधान राखिएको छ ।

आर्थिक मामिला, सामाजिक सांस्कृतिक, पर्यटन, सम्पदा तथा पुरातत्व, भौतिक पूर्वाधार तथा यातायात, सूचना तथा प्रविधि, सार्वजनिक प्रशासन, सुशासन तथा व्यवस्थापन, मानव संशाधन, सहरी विकास तथा सहरी योजना, कानून, स्वास्थ्य तथा वातावरण, शिक्षा तथा सहकारी, अन्तर्राष्ट्रिय मामिला हेर्ने व्यक्तिलाई सदस्यका रुपमा प्रमुखले नियुक्त गर्न सक्नेछ ।