राजनीति

आर्थिक समृद्धिको आधार पर्यटन, फेवाताल विना पोखराको कल्पना गर्न सकिँदैन : सांसद पहारी



पोखरा, २८ चैत । गण्डकी प्रदेशका सांसद तथा निवर्तमान युवा संघ नेपालका अध्यक्ष राजीव पहारीले फेवाताल मात्र नभई गण्डकी प्रदेशका सवै तालको भूमिका महत्वपूर्ण रहेको बताउँदै फेवाताल विना पोखराको कल्पना पनि गर्न नसकिने बताउनुभएको छ ।

आज पोखरा पर्यटन परिषद्ले आयोजना गरको शुभकामना आदान प्रदान कार्यक्रममा बोल्दै सांसद पहारीले गण्डकी प्रदेशले पर्यटनलाई पहिलो आधार मानेको बताउँदै पर्यटन नै देशको आर्थिक समृद्धिको मूख्य आधार भएको बताउनुभयो । उहाँले आगामी ३० गते नेपाल भ्रमण वर्ष २०२० को घोषणा पोखराबाट गर्ने जानकारी गराउँदै प्रदेशले आन्तरिक भ्रमण वर्ष २०१९ घोषणा गरी पर्यटन सम्बन्धी विभिन्न कार्यक्रम गरी आन्तरिक तथा बाह्य पर्यटकहरु भित्र्याइरहेको बताउनुभयो ।

निवर्तमान युवा संघ नेपालका अध्यक्ष समेत रहनुभएका सांसद पहारीले भ्रमण वर्ष मनाइरहँदा पुरानो परम्पराको माध्यमबाट गर्नु नहुने बताउनुभयो । उहाँले पर्यटनको आकर्षणको केन्द्रको रुपमा विकास गर्न आधुनिक, प्रविधिमैत्री, सफा, सुन्दर तथा वातावरणमैत्री पर्यटकिय क्षेत्रको विकास गर्नुपर्नेमा जोड दिनुभयो ।

आएका पर्यटकलाई व्यवस्थित पर्यटकिय स्थलको विकास र विस्तार गर्नुपर्ने बताउँदै सांसद पहारीले पोखराको लेकसाइडमात्र पर्यटकिय स्थलको रुपमा नभई सिङ्गो नेपालनै पर्यटकिय क्षेत्र रहेको बताउनुभयो । उहाँले हिमायती र रत्नमन्दिरलाई खुल्ला गरी भ्रमण वर्षको शुरुवात गर्नुपर्नेमा जोड दिनुभयो ।

लेकसाई पर्यटकको मुल स्थान भएको बताउँदै उहाँले फेवाताल बनाउने पहिलो काम त्यसपछि अन्यलाई पनि व्यवस्थित तथा परिस्कृत बनाउँदै जाने बताउनुभयो । फेवातालबाट राज्यको लागि अरवौं रकम प्राप्त हुने गरेको तर संरक्षणमा भने आवश्यक मात्रामा तदारुपता नदेखाएकोमा दुःख व्यक्त गर्दै उहाँले फेवातालको विभिन्न क्षेत्रमा जग्गा अतिक्रमण गरी व्यक्तिको नाममा दर्ता गरिएका जग्गा विभिन्न बैंक तथा वित्तिय संस्थाहरुमा कर्जा लिइएको र त्यसलाई अहिले सिमाङ्क भए पश्चात उक्त जग्गा सरकारी हुने भएपछि केही बैंक तथा व्यक्तिहरुमा समस्या सिर्जना भएको बताउनुभयो ।

सांसद पहारीले नीति निर्माण तथा कानुन निर्माणको जग बसाउने काम भएको बताउँदै आगामी वर्षहरु विकास र समृद्धिको आधार तयार पार्दै अघि बढ्नेमा सवैलाई ढुक्क हुन आग्रह गर्नुभयो ।