Banner News

विकास र समृद्धिका लागि सरकार बलियो जग बनाउन लाग्दैछ : मन्त्री बाँस्कोटा



लहान, ३० चैत । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले मुलुकको समग्र विकास र समृद्धि बनाउनका लागी सरकारले बलियो जग बनाउन लागेको बताएका छन ।

शुक्रवार साँझ लहानमा सञ्चारकर्मीहरुसँगको अन्तरक्रियामा मन्त्री बाँस्कोटाले मुलुकको समग्र विकास र समृद्धिका लागि सरकारले जग बलियो बनाउन लागेको र जग बलियो भएपछि माथि जस्ता हाल्ने काम हुँदै गर्ने बताए । उनले भने, ‘कृषि, सिँचाइ, शिक्षा, स्वास्थ्य र सडक पूर्वाधारको काम तीव्ररूपमा सरकारले अघि बढाएकाले अबको पाँच वर्षभित्र मुलुकमा ठूलो आर्थिक रुपान्तरण हुन्छ ।’

मन्त्री बाँस्कोटाले सङ्घीयता कार्यान्वयन र कानून निर्माणमा वर्तमान सरकार सफल भएको बताउँदै मुलुक समृद्ध बनाउने सरकारको कामको लोकप्रियता देखेर केही शक्तिहरु अहिले अत्तालिएको बताउदै उनले भने, ‘ती शक्तिलाई एक त हाम्रो दुईतिहाइ भएको पचेको छैन भने अर्कोतिर सरकारले गरिरहेको राम्रो काम मन पराएको छैन, त्यसैले विभिन्न सामाजिक सञ्जालको प्रयोग गरी सरकारको आलोचना गरिरहेका छन् ।’