काठमाडौँ, १ वैशाख । प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओलीले जालझेल गरेर कब्जा गरिएका सरकारी जग्गाहरु सबै फिर्ता गरिने बताउनुभएको छ ।
नयाँ वर्षमा बालुवाटार निवासबाट देशबासीलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले बालुवाटारस्थित प्रधानमन्त्री निवासको जग्गा नै भूमाफियाहरुले बेचेको खुलासा भएको बेला प्रधानमन्त्री ओलीले राज्यको सम्पत्तिमाथिको अनधिकृत दोहनलाई छुट नदिइने बताउनुभयो । यद्यपि भ्रष्टाचारविरुद्ध लड्न सहज नभएको बताउँदै उहाँले यसलाई उन्मूलन गर्न लामो समय लाग्न सक्ने पनि बताउनुभयो । प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘तर जुनसुकै मूल्य चुकाएर भए पनि भ्रष्टाचारलाई उन्मुलन गरीछाड्ने अभियानमा म प्रतिबद्ध छु ।’
उहाँले पूर्वप्राथमिक शिक्षामा नेपालको विद्यार्थी भर्नादर ८६ प्रतिशत रहेको र यो विश्वमै अगाडि भएको उल्लेख गरे । प्रधानमन्त्री ओलीले लगानीको लागि भरपर्दो वातावरण हेरी हालै सम्पन्न लगानी सम्मेलनमा उपस्थित अन्तर्राष्ट्रिय वित्तीय संस्थाका अधिकारीहरुले नेपाललाई दक्षिण एशियाको उदाउँदो अर्थतन्त्र ९राइजिङ्ग स्टार० भनेको र विश्वका विभिन्न मुलुकले नेपालको शान्ति प्रक्रिया र प्रतिस्पर्धामा आधारित हाम्रो सहभागितामूलक शासन पद्दतिलाई प्रेरणादायी र अनुकरणीय मानेको बताउनुभयो ।
प्रधानमन्त्री ओलीले नेपालमा हिंसाको दुष्चक्र स्वीकार्य नहुने बताउनुभयो । विप्लव समूहप्रति संकेत गर्दै त्यसको गतिविधि नियन्त्रण गर्न राष्ट्रिय अभियान नै चलाइएको जानकारी गराउनुभयो । प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘सबैखाले अतिवाद, अशान्ति र गडबडीबाट मुलुकलाई छिट्टै मुक्त गराइने छ । लामो द्वन्द्व र संक्रमणकाल अन्त्य गरेर बल्ल स्थायीत्वको बाटोमा हिँड्न लागेको मुलुकमा अर्को हिंसाको दुष्चक्र किमार्थ स्वीकार्य हुन सक्दैन ।’
प्रधानमन्त्री ओलीले समृद्धिको अर्को पूर्वसर्त शान्ति हो भन्दै मुलुकबाट पृथकतावाद अन्त्य भएको बताउनुभयो । ‘अलग देश, अलग राष्ट्रिय झण्डा, अलग राष्ट्रिय गान र अलक संविधानको अभियान चलाउँदै आएको समूहले नेपालको संविधानअनुरुप राजनीतिक क्रियाकलपामा सहभागी हुनु सामान्य विषय होइन,’ प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘यससँगै मुलुकबाट पृथकतावादको अन्त्य भएको छ भन्ने सुनाउन पाउँदा सन्तोष अनुभव गरिरहेको छु ।’
विकास र समृद्धिको बाटोमा आफूहरुसँग समय छोटो रहेको हुँदा विकास र समृद्धि हासिल गर्न छिटो दौडनुको अर्को विकल्प नभएको बताउनुभयो । २०७५ मा धेरै ऐन, कानुनहरु बनेको र ती ऐन कानुनहरु विकास र समृद्धिकै मार्ग भएकाले त्यसै मार्गबाट तिब्र गतिमा विकास र समृद्धि हासिल गर्ने बताउनुभयो । सम्बोधनको क्रममा उहाँले सरकारका उपलब्धिको चर्चा पनि गर्नुभयो ।
प्रधानमन्त्री रोजगार कार्यक्रम, नेपालको पानी, जनताको लगानी, खोलौं बैंक खाता अभियानको सुरुआतलाई उहाँले उपलब्धिको रुपमा व्याख्या गर्नुभयो । नेपाली इमान भएको जाति हो भन्दै उहाँले भ्रष्ट र अनैतिक मान्छे नेपाली हुनै नसक्ने भएकाले अहिले देखिएको भ्रष्टाचार नियन्त्रणमा सरकार लागेको पनि प्रष्ट पार्नुभयो ।










प्रतिक्रिया दिनुहोस्