भक्तपुर, १ बैशाख । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का युवा नेता, पूर्वउद्योगमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेतले भक्तपुरमा विकासको चारै दिशामा विकासको मुल फुटेको भन्दै भक्तपुरमा यो वर्ष इतिहासकै सवैभन्दा बढी विकास भएको बताउनुभएको छ ।
आज भुखाडोल समाज लोकन्थलीले आयोजना गरेको नयाँ वर्ष २०७६ तथा बिस्काः जात्रको अवसरमा चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै सांसद बस्नेतले प्रदेश तथा संघिय सरकारको तर्फबाट भक्तपुरमा यो वर्ष करिव १२ अर्व बराबरको बजेट ल्याउन सफल भएको जानकारी गराउनुभयो । उहाँले भक्तपुरमा मात्र राष्ट्रिय गौरवका आयोजनाहरु रंगशाला, सभागृह, वीर अस्पताल, प्राणी उद्यान केन्द्र, स्मार्ट सिटी लगायतका ठूला ठूला आयोजनाहरु निर्माणको प्रकृयामा रहेको बताउँदै उपत्यकामा चारवटा स्मार्ट सिटी बन्नेमा दुई वटा भक्तपुरमा पार्न सफल भएको बताउनुभयो ।
मनोहरा तथा हनुमन्ते नदीको करिडोर सञ्चालन पश्चात आंशिक रुपमा कोटेश्वरको जामको अन्त्य हुने बताउँदै सांसद बस्नेतले पेप्सीकोला सल्लाघारीको सडक विस्तार तिव्र रुपमा अघि बढे पनि केही जनताको समस्या आएको तर जनतालाई समस्या नहुने गरी क्षतीपूर्तीको व्यवस्था गर्ने समेत बताउनुभयो ।
पूर्वउद्योगमन्त्री समेत रहनुभएका सांसद बस्नेतले भक्तपुरका प्रत्येक वडामा जाने ठूला सडकहरु निर्माणको प्रकृयामा रहेको जानकारी गराउँदै ६ वटा ठूला पुल तथा ८ वटा साना पुलहरु बनिरहेको बताउनुभयो । उहाँले ढल, खानेपानी लगायतका समस्या अझै धेरै रहेको त्यसलाई क्रमिक रुपमा अन्त्य हुदै जाने बताउनुभयो ।
भक्तपुरको विकासको लागि आर्थिक अभाव हुँदैन, आर्थिक समस्याका कारण भक्तपुरको विकास नरोकिने बताउँदै उहाँले भक्तपुर संस्कृतिमा मात्र धनी नभई कृषिमा समेत धनी रहेको बताउनुभयो । उहाँले पर्यटन, सामाजिक, उद्योग लगायतको विकास गर्दै रोजगारीको सिर्जना गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले राज्यको शुन्य लगानीमा हनुमन्ते तथा अरनीको राजमार्ग सफाई अभियान, अरनीको राजमार्गमा सर्भिस ट्र्याक, वृहत घुम्ती शिविर लगायतका कामहरु भएको समेत जानकारी गराउनुभयो ।
सांसद बस्नेतले संविधानले स्रोत र शक्तिलाई तीन तहको सरकारमा बाँडफाँड गरेसँगै संविधानले गास, वास, कपास, स्वास्थ्य, रोजगारी लगायतको ग्यारेन्टी गरेको बताउँदै संघिय संसदले एक वर्षमा करिव ३ सय ऐन तथा कानुनहरु निर्माण गरेको बताउनुभयो । उहाँले कर्मचारी, प्रहरी, प्रदेश तथा स्थानीय वित्तिय व्यवस्थापनको अन्तिम चरण्मा रहेको समेत जानकारी गराउनुभयो ।
सरकारले राष्ट्रिय तथा अन्तराष्ट्रिय गौरवका ठूल ठूला विकासका आयोजनाहरु शुरु गरेको बताउँदै सांसद बस्नेतले रेल मार्ग, मेट्रो रेल, हुलाकी राजमार्ग, सुरुङ मार्ग, जलमार्ग, मदनभण्डारी राजमार्ग जुन औद्योगिक करिडोरको रुपमा हुने लगायतका जनमूखी कार्यहरु तिव्र रुपमा विकास गरिरहेको बताउनुभयो ।
नेपालले छिमेकी देश चीन र भारतसँग जोड्ने गरी रेलमार्गको विकासको प्रकृया अघि बढेको बताउँदै उहाँले सरकारले नवलपरासीको फलाम खानी तथा दैलेखको पेट्रोल खानीको सञ्चालनको गर्ने तयारी गरिरहेका समेत जानकारी गराउनुभयो ।
कार्यक्रममा प्रदेश नं. तीनका सांसद प्रतिमा श्रेष्ठ, डा. राजेन्द्रमान श्रेष्ठ, भक्तपुर जिल्ला समन्वय समितिका संयोजक नवराज गेलाल, मध्यपुर ठिमी नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठ, नेकपा भक्तपुरका कार्यवहाक अध्यक्ष बचन देउजा, युवा संघ नेपालका अध्यक्ष रमेश पौडेल लगायतले शुभकामना मन्तब्य व्यक्त गर्नुभएको थियो ।










प्रतिक्रिया दिनुहोस्