काठमाडौँ, २ वैशाख । वन तथा वातावरण मन्त्रालय अन्तर्गतको वनस्पति विभागले ‘जुम्ला’ र ‘कोशी’ नामका पर्फ्युम उत्पादन गरेर सार्वजनिक गरेको छ ।
वन तथा वातावरण मन्त्री शक्तिबहादुर बस्नेतले गर्वका साथ स्वदेशी जडिबुटी तथा सुगन्धित तेलबाट सौन्दर्य सामग्री पर्फ्युम बनाएको भन्दै वनस्पति वैज्ञानिकको प्रशंसा गर्नुभयो । मन्त्री बस्नेत आफैले सार्वजनिक गरेको साबुन र स्याम्पु कस्तो थियो ? भनेर उपभोक्ताले हेर्न र छुन समेत पाएनन् । यस वर्ष उत्पादन गरिएको पर्फ्युम पनि बजारमा किनबेच गर्न पाइनेमा आशंका छ ।
वैज्ञानिकले बनाएको पर्फ्युम मन्त्री आफैले हातमा लिएर जडिबुटी उत्पादन तथा प्रशोधन केन्द्र कम्पनीलाई हस्तान्तरण गरेपछि भन्नुभयो, ‘जडिबुटी उत्पादन तथा प्रशोधन केन्द्र कम्पनी भन्ने छ । तर कम्पनी हुन सकेको छैन । अस्तव्यस्त अवस्थामा रहेको कम्पनी बनाउन साथीहरुले प्रयास थालेका छन् । यो पनि एउटा आशाको दियो हो ।’
तर मन्त्रालयमै अलपत्र परेको ‘वनस्पति स्रोत विधेयक’को मस्यौदा संसदबाट पारित नभएका कारण विभागका वैज्ञानिकले गएको वर्ष उत्पादन गरेको साबुन र स्याम्पु अनुसन्धानशालामै थन्किएको छ ।
संसदीय समितिबाट फिर्ता भएको विधेयक परिमार्जन भएर फेरि वन तथा वातावरण मन्त्रालयमा पुगेको छ तर अगाडि बढ्न सकेको छैन । विधेयक पारित नहुँदा विभागले वन जङ्गलमा पाइने जडिबुटीमाथि अनुसन्धान गरेर उत्पादन बढाउन सकेको छैन । वनस्पति स्रोत विधेयक संसदबाट पारित भइ नसकेकाले विभाग आफैलाई उत्पादन गरेका सामग्री बेच्न पाउने अधिकार छैन ।
वैज्ञानिकहरुले स्वदेशकै जडिबुटीलाई प्रयोग गरेर सामान उत्पादन गरे पनि त्यसको बजारीकरण गर्न आवश्यक कानुन मात्रै होइन, दक्ष जनशक्ति र आधुनिक प्रविधि पनि छैन ।
नेपालका वन जङ्गलमा सात सयभन्दा बढी जडिबुटी पाइन्छ । तीमध्ये पाँच सयभन्दा बढी जडिबुटी कर्णाली प्रदेशका विभिन्न जिल्लामा पाइन्छ । जहाँ यार्सागुम्बा, जटामसी, कुरेलो, पाँचऔले लगायतका केही जडिबुटीको मात्रै चर्चा हुन्छ । अरु जडिबुटीको संकलन, भण्डारण र अनुसन्धान हुन सकेको छैन ।










प्रतिक्रिया दिनुहोस्