गुल्मी, ४ वैशाख । श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण बिष्टले केही दिन अघि भाँचिएको पक्की पुलको निरीक्षण गर्दै निर्माणाधिन पुल भाँचिनु ठेकेदारको चरम लापरवाही भएको भन्दै तत्काल सरकारी पक्षबाट छानविन गरी कारवाही गर्ने बताउनुभएको छ ।
गृहजिल्ला गुल्मी भ्रमणको क्रममा मुसिकोट नगरपालिका ७ झेदी पुलमा पुगेर मन्त्री बिष्टले ठेकेदार र सरकारी प्राविधिकको लापर्वाहीका कारण ढलानलगत्तै भाँचिएको पुलको निरीक्षण गर्नुभएको हो । निरिक्षणको क्रममा उहाँले अन्तिम अवस्थामा पुल ढल्नु ज्यादै दुखद भएको भन्दै छिटोभन्दा छिटो सरकारी पक्षबाट यसको अनुगमन गरेर कारबाही प्रक्रिया अगाडी बढाउन निर्देशन दिनुभयो ।
मन्त्री बिष्टले भन्नुभयो, ‘ज्यादै महत्वपूर्ण स्थानमा मुस्किलले पुल पारेको हो, यो दुर्भाग्य देख्नु पर्यो ।’ आफुले पनि यो बिषयमा विभिन्न निकाय र निर्माण कम्पनीसंग समन्वय गरिरहेकाले त्यहि ठाउँमा पुन पुल निर्माण गरिने जानकारी पनि उहाँले दिनुभएको छ ।
मुसिकोट नगरपालिका ३ वडागाउँ र वडा नं ७ वामी जोड्ने झेदी पुल गत आइतबार भत्किएको थियो । ढलान गरेको २ दिनमै पक्की पुल भत्किएपछि पाँच जना घाइते समेत भएका थिए । भत्किएको पुलको विज्ञ टोलीले समेत अनुगमन तथा निरिक्षण गरेको छ ।
कुल पाँच करोड १७ लाख ८४ हजार रुपैयाँमा लागतमा निर्माण हुन लागेको ५८ मिटर लम्बाइको पुल भत्किएकोबारे अनुसन्धान गर्न विज्ञसहितको टोली गुल्मी आउन लागेको पूर्वाधार विकास कार्यालय, गुल्मीका प्रमुख इञ्जिनियर विनोद चौधरीले जानकारी दिनुभयो ।










प्रतिक्रिया दिनुहोस्