काठमाडौँ, ५ वैशाख । उपराष्ट्रपति नन्दबहादुर पुनले अन्तरिक्षमा नेपालको सहभागिता हुनु गौरवको विषय भएको बताएका छन ।
नेपाली भू–उपग्रह अन्तरिक्षतर्फ पठाइएकामा खुसी व्यक्त गर्दै उपराष्ट्रपतिले भू–उपग्रह प्रक्षेपणको सम्पूर्ण कार्य गर्ने नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) र नेपाली वैज्ञानिकलाई धन्यवाद साथै सबै नेपालीमा बधाई ज्ञापन गरेका छन ।
बिहान २ बजेर ३१ मिनेट जाँदा नेपालको पहिलो भू–उपग्रह ‘नेपाली स्याट–१’को प्रक्षेपण भएको अवसरमा एक सन्देश दिँदै उनले नेपाली भू–उपग्रह अन्तरिक्षतर्फ पठाइएकोमा खुसी व्यक्त गरेका छन ।
नेपालको भू–उपग्रह नेपाली समय अनुसार बिहीवार बिहान २ बजेर ३५ मिनेटमा भर्जिनिया राज्यको तटस्थित प्रक्षेपण केन्द्रबाट अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्र (आईएसएस)मा प्रक्षेपण गरिएको हो ।
यसको तौल झण्डै एक किलो छ । नेपाली भू-उपग्रहलाई एन्टारेस नामक वायुयानभित्र रहने सिग्नस कार्गो विमानमा राखेर अन्तरिक्षमा पठाइएको छ । यसबाट नेपालले आफ्नो भूभागको मौसम, पानी, तापक्रम आदि समेटिएका तस्वीर र सूचनाहरू प्राप्त गर्न सक्ने छ ।
नेपाली स्याट–१ को प्रक्षेपणसँगै नेपाल भू–उपग्रह प्रक्षेपण गर्ने मुलुकको सूचीमा जोडिएको छ ।










प्रतिक्रिया दिनुहोस्