चितवन, ७ वैशाख । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले २००७ साल, २०१७ साल, २०४६ को जस्तो परिवर्तन अहिलेको नभएको बताउँदै उहाँले अहिलेको परिवर्तन मात्रात्मक होइन गुणात्मक परिवर्तन भएको बताउनुभएको छ ।
तीन नम्बर प्रदेश सरकारले शुक्रबार चितवनमा आयोजना गरेको निजी क्षेत्रसँग अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले समृद्धिको संकल्प पूरा गर्न सबै पक्षको सहमति र सहकार्य आवश्यक रहेको बताउनुभयो । सहमतिका साथ विकास निर्माणमा जाने संकल्प गरेको उहाँले बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘सहमतिका साथ संविधान बनायौं, सहमतिका साथ निर्वाचन गरायौं, अब सहमतिका साथ विकास निर्माणतर्फको यात्रा शुरु गर्ने संकल्प गरेका छौं ।’
आयातमुखी अर्थतन्त्रलाई विस्थापित गर्नुको विकल्प नरहेको बताउदै उहाँले निजी क्षेत्रलाई उद्योगधन्दा र उत्पादनमा लगानी गर्न आह्वान गर्नुभयो । निजी क्षेत्रसँग सहकार्य गर्न सबै पक्ष इमान्दार हुनुपर्ने बताउँदै उहाँले सार्वजनिक र निजी क्षेत्र इमान्दारिता साथ मिलेर विकास निर्माणमा लाग्नुपर्ने बताउनुभयो । निजी क्षेत्रलाई लगानीको लागि प्रोत्साहित गर्न सकिएन भने स्वदेशी र विदेशी लगानी आउँछ भन्ने सपना देख्नु दिवास्वप्न हुने उहाँले बताउनुभयो ।
कार्यक्रममा पूर्व अर्थमन्त्री एवं नेपाली कांग्रेसका नेता डा. रामशरण महतले लगानीको वातावरण बढाउन संघीयतासँगै तीन तहका सरकारले आफ्नो निर्णय क्षमता र गुणस्तर बढाउनु पर्ने नेता महतले बताउनुभयो । वितरणमुखी भन्दा उत्पादनमुखी हुनुपर्ने बताउदै उहाँले विकास निर्माणका कामलाई राजनैतिक विवादको विषय बनाउन नहुने पनि बताउनुभयो ।










प्रतिक्रिया दिनुहोस्