काठमाडौँ, ९ वैशाख । अर्थमन्त्री डा. युवराज खतिवडाले कुनै पनि बहानाबाजीमा कार्यसम्पादन गर्न रोक्न नमिल्ने भन्दै मन्त्रालयका सचिवहरुलाई नतिजा देखिने गरी काम गर्न निर्देशन दिनुभएको छ ।
अर्थ मन्त्रालयमा आइतबार भएको बजेट कार्यान्वयनको समिक्षा कार्यक्रममा अर्थमन्त्री खतिवडाले मन्त्रालयले अधिकतम प्रयास गरी वैशाख मसान्तसम्ममा दुई तिहाई पूँजीगत खर्चको नतिजा ल्याउन धेरै बजेट भएका मन्त्रालयलका सचिवहरुलाई निर्देशन दिनुभएको हो । उहाँले वैशाख मसान्तभित्रमा भौतिक प्रगतिको अनुपातमा वित्तीय प्रगति पनि देखिने गरी काम गर्न सचिवहरुलाई निर्देशन दिनुभयो । उहाँले चाहेमा एक महिनामा धेरै काम गर्न सकिने बताउनुभयो ।
उहाँले वैशाख मसान्तसम्मको मन्त्रालयहरुको पूँजीगत खर्चको अनुपातमा आगामी वर्षको लागि बजेट विनियोजन गर्ने आधार तयार हुने र सोही कार्यसम्पादनको आधारमा आगामी बजेट विनियोजन गरिने स्पष्ट पार्नुभयो ।
अर्थमन्त्री खतिवडाले सम्पन्न भएका परियोजना तथा आयोजनाहरुको रकम तत्काल भुक्तानी गर्न सम्बन्धित मन्त्रालयलाई निर्देशन समेत दिनुभएको छ । आयोजनाहरुको भौतिक प्रगति भए अनुरुप वित्तिय प्रगति देखिने गरी यथासमयमै भुक्तानी दिनुपर्ने भन्दै मन्त्री खतिवडाले दायित्व सिर्जना भई सकेका विषयलाई आगामी वर्षमा दायित्व नसार्न र रकमको अभावले परियोजनाको काम नरोक्न समेत स्पष्ट पार्नुभयो ।
वैदेशिक स्रोतको परिचालनका सम्बन्धमा शर्तहरुलाई व्यवहारिक रुपमा लागु गर्नसक्ने गरी सम्झौता गर्नुपर्ने र भइसकेका सम्झौताहरु पालना गर्नुपर्ने भएमा बलमिच्याइँ गर्न नहुने बताउनु भयो ।










प्रतिक्रिया दिनुहोस्