समाचार

तनहुँमा बस दुर्घटना : ६ जना घाइते



तनहुँ, १० वैशाख । सुनौलीबाट पोखरा आउँदै गरेको यात्रुवाहक बस पृथ्वी राजमार्गअन्तर्गत तनहुँमा दुर्घटना हुँदा ६ जना घाइते भएका छन् ।

गएराति २ बजे ना५ख ५३३० नम्बरको बस शुक्लागण्डकी नगरपालिका–७ शेराटारस्थित राजमार्गमा अनियन्त्रित भई दुर्घटना भएको बताइएको छ । घाइते हुनेमा भारत उत्तर प्रदेश घर भई हाल बागलुङ काठेखोला गाउँपालिका–४ बस्ने य मुनिराम मोहरिया, निजकी श्रीमती कञ्चन मोहरिया, म्याग्दी अन्नपूर्ण गाउँपालिका–१ बस्ने धनकुमार परियार, कपिलवस्तु नगरपालिका–९ बस्ने रेशम शाह, पर्वत कुश्मा नगरपालिका–१ बस्ने हरिबहादुर छन्त्याल र सोही ठाउँका रवि परियार रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

घाइतेहरुको शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारास्थित जिपी कोइराला श्वासप्रश्वास उपचार केन्द्रमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ । ४० यात्रु सवार रहेको उक्त बस सडकबाट ५ फिट तल खसेको थियो । दुर्घटनालगत्तै बस चालक फरार रहेको र उनको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।