राजनीति

राष्ट्रपति भण्डारी चीन प्रस्थान



काठमाडौँ, ११ वैशाख । राष्ट्रपति विद्यादेवी भण्डारी बुधबार चीन प्रस्थान गर्नुभएको छ ।

बेइजिङमा दोस्रो पटक आयोजना हुन लागेको बेल्ट एण्ड रोड फोरम फर इन्टरनेशनल कोअपरेशन सम्मेलनमा भाग लिन राष्ट्रपति बेइजिङ प्रस्थान गर्नुभएको हो । उहाँ ११ बजे सियान हुँदै बेइजिङतर्फ प्रस्थान गरेको राष्ट्रपति कार्यालयले जनाएको छ ।

चीन भ्रमणका क्रममा दुवै देशका राष्ट्रपतिबीच उच्चस्तरीय वार्ता हुने र केही सम्झौतामा हस्ताक्षर हुने बताइएको छ । राष्ट्रपति भण्डारी वैशाख १९ गते काठमाडौं फर्किने कार्यक्रम तय भएको छ ।

आजदेखि सुरु हुने चीनको राजकीय भ्रमणका क्रममा नेपालले रेलदेखि सुरुङमार्गसम्मका परियोजनामा चिनियाँ अनुदान ल्याउने प्रयास गर्ने भएको छ  । राष्ट्रपति भण्डारीको चीन भ्रमणका लागि नेपालले बेल्ट एन्ड रोड इनिसिएटिभ्स (बीआरआई) सम्बन्धी परियोजनाका ९ वटा सूची तयार पारेको छ  ।

नेपालका तर्फबाट सुरुमा ३५ परियोजना पेस भएकोमा प्राथमिकताका आधारमा १० भन्दा कममा झार्न चीनले सुझाव दिएपछि नेपालले ९ वटा सूची तयार गरेको हो । जसमा ल्हासादेखि काठमाडौंसम्मका अन्तरदेशीय विद्युत् प्रसारण लाइन बनाउने र नौबिसेदेखि काठमाडौंसम्म सुरुङ खन्ने प्रस्तावलगायत छन् ।

यस्तै मदन भण्डारी पोलिटेक्निक इन्स्टिच्युट, हुम्ला जोडिने हिल्सा नाका र मुस्ताङसँग जोडिएको केरला नाका खोल्न, गल्छीदेखि केरुङसम्मको बाटो स्तरोन्नति गर्ने प्रस्ताव नेपालको छ । परराष्ट्र स्रोतका अनुसार केरुङ–काठमाडौं रेलमार्गको विस्तृत अध्ययनको प्रस्ताव राख्ने इच्छा नेपालले देखाएको छ ।

भ्रमणका क्रममा राष्ट्रपति भण्डारी र चिनियाँ समकक्षी सी चिनफिङबीच द्विपक्षीय वार्ता हुनेछ । त्यसपछि दुवै देशबीच व्यापार तथा पारवहन सन्धिको प्रोटोकलमा हस्ताक्षर हुनेछ । भण्डारीले दोस्रो बीआरआई सम्मेलनमा पनि नेपालको चासोबारे औपचारिक सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

नेपालका राष्ट्रपतिलाई पहिलोपटक कार्यकारी भ्रमणको निम्तो दिएको चीनले भण्डारी नेतृत्वको टोलीलाई बेइजिङमा उच्च सम्मान दिँदै छ । ५० सदस्यीय टोलीमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेल, सांसद योगेश भट्टराईसहित उच्च सरकारी अधिकारीहरूलगायत सहभागी हुनेछन् ।