Banner News

भक्तपुरमा विकासको चारै ढोका खुल्ला, अविकसित हुने दिन समाप्त : सांसद बस्नेत



भक्तपुर, १३ वैशाख । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का युवा नेता, पूर्वउद्योगमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेतले अब भक्तपुरमा विकासको प्रतिक्षा गर्ने नभई देशकै नमुना भएको हेर्ने दिन आएको बताउनुभएको छ ।

आज सूर्यविनायक नगरपालिकाको वडा नं. ९ स्थित काँक्रावारीमा रहेको सरस्वती माध्यमिक विद्यायलको नवनिर्मित ८ कोठे भवन उद्घाटन कार्यक्रममा बोल्दै सांसद बस्नेतले आगामी दिनमा भक्तपुर अविकसित भएर बस्नुपर्ने दिनको अन्त्य हुने बताउनुभयो । उहाँले देशको विकासको तिव्र गतिमा अघि बढेको बताउँदै वर्तमान सरकारको कार्यकालमा नै देशले काँचुली फेर्ने समेत बताउनुभयो ।

सांसद बस्नेतले समृद्ध नेपाल सुखी नेपालीको अभियानलाई सार्थक बनाउन राज्यका तीनै तहका सरकारले एक ढिक्क भई काम गर्नुपर्ने बताउँदै विकासको राष्ट्रिय अभियान अघि बढेको बताउनुभयो । उहाँले समृद्ध नेपाल सुखी नेपालीको अभियान सफल बनाउन सरकारले शिक्षा, स्वास्थ्य, सडक, भौतिक संरचना, सफाई, जलमार्ग, रेल मार्ग, सुरुङ मार्ग, हवाई मार्ग, रोजगारी, आधुनीक कृषी प्रणाली, जलविद्युतको तिव्र उत्पादन, विभिन्न प्रकारका उत्खनन् गर्ने लगायतका कार्यहरु गरिरहेको बताउनुभयो ।

पूर्वमन्त्री समेत रहनुभएका सांसद बस्नेतले देश विकासको लागि शिक्षा अहिलेको मेरुदण्ड भएको बताउँदै सरकारले शिक्षाको लागि करिब १० प्रतिशत बजेट छुट्याएको जानकारी गराउनुभयो । शिक्षाको विकास गर्दै सिप र व्यवसायको प्रवद्र्धन गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

शिक्षाको विकाससँगै आत्मनिर्भर तथा स्वाभलम्बी हुनुपर्ने बताउँदै सांसद बस्नेतले काँक्रावारीलाई इको भिलेजको रुपमा विकास गर्दै पर्यटकीय गन्तव्यको रुपमा अघि बढाउने काम भइरहेको बताउनुभयो । उहाँले भक्तपुरमा होमस्टे, भ्यु टावर, रंगशाला, कवोर्डहल, सभागृह, आधुनिक वीर अस्पताल, प्राणी उद्यान केन्द्र लगायतका राष्ट्रिय गौरवका आयोजनाहरु निर्माण हुने प्रकृया अघि बढिरहेको जानकारी गराउनुभयो ।

दक्ष, प्राविधिक, व्यवहारिक लगायतका शिक्षा अहिलेको अपरिहार्य रहेको बताउँदै सांसद बस्नेतले शैक्षिक पाठ्यक्रमलाई परिमार्जन गर्दै शिक्षालाई सैद्धान्तिक मात्र नभई व्यवहारिक हुनुपर्नेमा जोड दिनुभयो । उहाँले हुँदा खाने र हुने खानेबीचको शिक्षाको खाडललाई अन्त्य गर्नुपर्ने बताउँदै सामुदायीक विद्यालयका शिक्षक/शिक्षिकाले वर्तमान समय र परिस्थिती अनुसारको शिक्षा दिन आवश्यक मात्रामा ज्ञानको विकास गर्नुपर्नेमा जोड दिनुभयो ।

विगतमा नेतृत्वमा रहेका व्यक्तिले समयमा नै ध्यान नदिँदा भक्तपुरको विकासले तिव्रता लिन नसकेको बताउँदै आगामी दिनमा विकासले तिव्रता पाउने र विकासको कुनै चिन्ता लिनु नपर्ने बताउनुभयो । उहाँले निर्वाचनका समयमा आफुले गरेको चुनावी प्रतिवद्धतालाई अक्षरस रुपमा पुरा गर्ने मात्र नभई त्यो प्रतिवद्धता भन्दा बढी जनताको आवश्यकता अनुसारको विकास गरेरै छोड्ने प्रतिवद्धता समेत व्यक्त गर्नुभयो ।

जिल्ला आयोजना कार्यान्वयन इकाइको १ करोड ९ लाखको लागतमा निर्माण गरिएको उक्त भवनको उद्घाटन कार्यक्रममा सूर्यविनायक नगरपालिकाका उपप्रमुख जुनदेवी बस्नेत, इकाइका प्रमुख दिलेश्वर प्रधान, सूनपा वडा नं. ८ का वडाध्यक्ष किरण थापा, पूर्वअध्यक्ष, पूर्वप्रअ तथा विद्यालय व्यवस्थापन समितीका अध्यक्ष तथा सूनपा वडा नं. ९ का वडाध्यक्ष उपेन्द्रराज केसी लगायतले शिक्षाको क्षेत्रको विकास र विस्तारमा सामुदायीक विद्यालयको महत्वपूर्ण भूमिका रहेको बताउँदै शिक्षा क्षेत्रको सुधार तथा सहयोगको प्रतिवद्धता जनाउनुभएको छ ।